June 16, 2024

स्पेनिस क्लब एफसी बार्सिलोनाका उपाध्यक्ष राफा युस्टेले पूर्व क्लब कप्तान लियोनल मेस्सीलाई क्याम्प नपु फर्काउने बारे पहिलो पटक मुख खोलेका छन्। उनले अर्जेन्टिनी स्टारको क्याम्पसँग आउँदो समर ट्रान्सफर विन्डोमा बार्सिलोना फर्कन सहजीकरण गर्न वार्ता गरिरहेको पुष्टि गरेका छन्।

मेस्सीले २०२१ मा निकै निराशाजनक तरिकाले क्याटालान क्लब छाड्न बाध्य भएका थिए। आर्थिक संकटसँग लगातार जुधिरहेको समयमा स्पेनिस क्लबले आफ्नो कप्तानको सम्झौता नवीकरण गर्न असफल भएपछि मेस्सी नि:शुल्क एजेन्ट बनेका थिए।

बार्सिलोनासँगको २१ वर्षको सहकार्यपछि उनी फ्रि ट्रान्सफरमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग आवद्ध भएका थिए। पीएसजीसँग सामेल हुँदा उनले दुई वर्षीय सम्झौतामा हस्ताक्षर गरेका थिए, जुन जारी सिजनको अन्त्यमा समाप्त हुँदैछ।

७ पटकका बालोन डी’ ओर विजेताको पीएसजीमा रहेको सम्झौता समाप्त हुँदै गर्दा दुई पक्ष बीच नवीकरणका लागि कुनै सहमति जुटेको छैन। मेस्सीको भविष्य हाल अनिश्चित रहँदा उनको पूर्व क्लब बार्सिलोनाले पहिलो पटक पुष्टि गरेको छ कि उनीहरूले आफ्नो रेकर्ड गोलकर्तासँग यस गर्मीमा सम्भावित पुनरागमनको बारेमा वार्ता गरेका छन्।

बार्सिलोनाका उपाध्यक्ष युस्टे, फाब्रिजियो रोमानो मार्फत, खुलासा गरेका छन्: “हामी लियो मेस्सीको क्याम्पसँग सम्पर्कमा छौं। लियोलाई थाहा छ कि हामी उनको कत्ति कदर गर्छौं र म उनलाई बार्सिलोनामा फर्केको हेर्न चाहन्छु। म दुई वर्षअघि सम्झौता वार्तामा संलग्न थिएँ र अझै पनि याद छ कि लियो मेस्सीलाई छोड्न कत्ति गाह्रो थियो।”

उनले यसो भन्दै निकर्ष निकाले, “निश्चित रूपमा लियो मेस्सी बार्सिलोना र शहरलाई माया गर्छन्, त्यसैले हामी उनको कथा जारी राख्नको लागि सही अवस्था फेला पार्ने आशा गर्दछौं।”

तर विश्वकप विजेताको बार्सिलोना पुनरागमन सोचे जस्तो सजिलो भने पक्कै पनि छैन। मेस्सीको फिर्ती समर ट्रान्सफर विन्डोमा ब्लाउग्राना क्लबको गतिविधिमा निर्भर हुनेछ। कुनै पनि प्रकारको प्रतिबन्धबाट बच्न र नयाँ खेलाडी दर्ता गर्न क्लबले पहिला आफ्नो पारिश्रमिक बिल घटाउन आवश्यक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *