June 14, 2024

स्पेनिस ला लिगामा साबिक विजेता रियल म्याड्रिडले निकै उत्कृष्ट जित दर्ता गरेको छ। कप्तान करिम बेन्जेमाले ८ मिनेटमा ह्याट्रिक गरेपछि रियल म्याड्रिडले रियल भालाडोलिडलाई ६-० को फराकिलो अन्तरले पराजित गरेको हो।

खेलको २२ औं मिनेटमा रोड्रीगो गोएसले गोल गर्दै रियल म्याड्रिडलाई अग्रता दिलाएका हुन्। मार्को एसेन्सियोको पासमा निकै सुन्दर तरिकाले गोल गर्दै ब्राजिलियन युवा स्टारले आफ्नो टोलीलाई सुखद सुरुवात गराएका हुन्।

जसपछि वर्तमान बालोन डी’ ओर विजेता करिम बेन्जेमाको जादू चलेको थियो। उनले ८ मिनेट भित्र निकै आकर्षक ह्याट्रिक गर्दै केही समयमा नै आफ्नो टोलीको अग्रता १ गोलबाट ४ गोलमा पुर्याएका थिए। उनको पहिलो गोल खेलको २९ औं मिनेटमा आएको थियो।

भिनीसियस जुनियरको निकै सानदार असिस्टलाई निकै सहज तरिकाले गोलमा परिणत गर्दै फ्रेन्च स्टारले आफ्नो टोलीको अग्रता दोब्बर पारेका हुन्। त्यसको ३ मिनेट पछि नै भिनीसियस कै पासमा गोल गर्दै ३५ वर्षीय स्टारले व्यक्तिगत दोस्रो गोल गर्दै म्याड्रिडलाई ३ गोलको अग्रता दिलाएका हुन्।

त्यसपछिको तीन मिनेट भित्र अर्को गोल गर्दै बेन्जेमाले आफ्नो ह्याट्रिक पूरा गरेका हुन्। यसपटक उनलाई पहिलो गोल गर्ने खेलाडी रोड्रीगोले असिस्ट गरेका थिए। यसरी ७ मिनेटको अन्तरालमा बेन्जेमाले रियल म्याड्रिडको जित पक्का गरेका थिए।

पहिलो हाफमा ४-० को अग्रता लिएको रियल म्याड्रिडले दोस्रो हाफमा थप दुई गोल गरेको हो। खेलको ७३ औं मिनेटमा रोड्रीगोले आफ्नो दोस्रो असिस्ट प्रदान गर्दा मार्को एसेन्सियोले गोल गर्दै लस ब्लान्कोसलाई ४-० को स्थितिमा पुर्याएका थिए।

जसपछि खेलको ९१ औं मिनेटमा लुकास भास्केजले गोल गर्दै रियलको अग्रता ६ गोलको बनाएका हुन्। उनले बेन्जेमाको स्थानमा मैदान प्रवेश गरेका इडेन हाजार्डको असिस्टमा गोल गरेका हुन्।

आइतबारको जितपछि रियल म्याड्रिडले लिग तालिकामा लिडर बार्सिलोना सँगको अंक दूरी १५ बाट १२ मा झारेको छ। शनिबार भएको खेलमा बार्सिलोनाले एल्चे माथि ४-० को जित निकालेको थियो। तालिकाको दोस्रो स्थानमा रहेको रियलको २७ खेलमा ५९ अंक रहेको छ भने शीर्ष स्थानको बार्सिलोनाको समान खेलबाट ७१ अंक रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *