June 25, 2024

फुटबल क्लब बार्सिलोनाले आफ्ना पूर्व क्लब कप्तान लियोनल मेस्सीलाई आउँदो समर ट्रान्सफर विन्डोमा पुन: अनुबन्ध गर्न सफल भएमा उनलाई प्लेमेकरको रूपमा मिडफिल्डमा प्रयोग गर्ने योजना बनाइरहेको बुझिएको छ।

फ्रेन्च क्लब पेरिस सेन्ट-जर्मेन (पीएसजी) मा ३५ वर्षीय स्टारको सम्झौता जारी सिजनको अन्त्यमा समाप्त भएपछि अर्जेन्टिनी कप्तानका लागि क्याटालान क्लबले उनलाई बार्सिलोना फिर्ता ल्याउनक लागि सम्भावित कदम चाल्ने बारे विभिन्न अनुमान तीव्र रूपमा बढ्दै गएको छ।

वर्तमान लिग १ च्याम्पियनसँग हालसम्म नयाँ सम्झौतामा हस्ताक्षर गर्नका लागि कुनै प्रकारको सहमति नभएको हुँदा ३५-वर्षीय अर्जेन्टिनी स्टार आउँदो गर्मीमा नि: शुल्क एजेन्ट बन्ने सम्भावना उच्च रहेको बताइन्छ।

यस्तोमा, स्पेनिस लिग लिडरले मेस्सीसँग सम्बन्धित पेरिसमा हुने घटनाहरूमा लगातार नजिकबाट नजर राखिरहेको छ। ७ पटकका बालोन डी’ ओर विजेताले २०२१ मा क्लब छाड्नु अघि बार्सिलोनाका लागि ६७२ गोल दर्ता गरिसकेका छन् भने १० ला लिगा उपाधि र चार च्याम्पियन्स लिग उपाधि जितेका छन्।

यसैबीच, स्पेनिस पत्रिका मुन्डो डेपोर्टिभोले दाबी गरे अनुसार २०२२ विश्वकप विजेता कप्तानले स्पेनिस फुटबलमा सम्भावित पुनरागमनको सम्बन्धमा ब्लाउग्राना क्लबका ड्रेसिङ रुममा रहेका केही मुख्य खेलाडीसँग यसबारे कुरा गरिसकेका छन्।

यसका साथै बार्सिलोनाका मुख्य प्रशिक्षक जाभी हर्नान्डेज पनि आफ्ना पूर्व सहकर्मीको फिर्तीलाई लिएर निकै उत्सुक भएको बताइन्छ। पूर्व बार्सिलोना कप्तान पुन: क्लबसँग आवद्ध भएमा उनी मेस्सीलाई आफ्नो सामान्य फ्रि-रोमिङ आक्रमण रोल भन्दा फरक रचनात्मक भूमिकामा देख्न चाहन्छन्।

स्पेनिस लिग लिडरले यस सिजन चार-व्यक्तिको मिडफिल्ड प्रणालीका साथ खेल्दा निकै उच्च प्रदर्शन गर्न सफल भएका छन् र मेस्सी जाभीले प्रयोग गर्ने यस्तो प्रणालीमा कुनै समस्या बिना नै स्थान बनाउने विश्वास क्लबमा रहेको छ।

हाल बार्सिलोनाको प्रमुख समस्या भने लिगको आर्थिक फेयर प्ले नियम हो, जसको कारण मेस्सीको लागि स्थानान्तरण गर्न विचार गर्नु अघि केही गम्भीर लागत कटौती गर्नु आवश्यक हुन्छ। त्यसैले पनि ब्लाउग्राना क्लबले आउँदो समर ट्रान्सफर विन्डोमा केही ठूला नामको साथमा धेरै खेलाडी अफलोड गर्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *