June 22, 2024

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले क्याटलान क्लब बार्सिलोनासँग सानदार बदला लिएको छ। लालिगा अन्तर्गतको एल क्लासिकोमा हार भोगेको केहि साता भित्रै रियलले बार्सिलोनासँग बदला लिएको हो।

बुधबार राति स्पेनिस कोपा डेल रेको सेमिफाइनलको दोस्रो लेगमा रियलले बार्सिलोना विरुद्ध सानदार जित निकाल्दै फाइनलको यात्रा तय गर्यो। रियलले बार्साको घरेलु मैदानमा ४ गोल गरेको थियो।

बार्सिलोनाले भने एक गोल पनि गर्न सकेन। खेलभर बलमा भने बार्सिलोनाको बढी नियन्त्रण थियो। खेलभर बलमा बार्सिलोनाले ५३ प्रतिशत नियन्त्रण बलमा राखेको थियो। खेलभर बार्सिलोनाको तर्फबाट कुल ११ प्रहार भएका थिए।

त्यसमध्ये ५ प्रहार टार्गेटमा थिए। तर गोलमा भने एक प्रहार पनि परिणत हुन सकेन। रियलले भने खेलभर ९ प्रहार गरेको थियो। त्यसमध्ये ७ प्रहार टार्गेटमा थिए र ४ प्रहार गोलमा परिणत भए।

बार्सा विरुद्धको खेलमा कप्तान तथा फरवार्ड करिम बेन्जेमाले ह्याट्रिकसँगै एक गोलको लागि असिस्ट प्रदान गरेका थिए। ४ मध्ये ३ गोल बेन्जेमाले गर्दा एक गोल भने भिनिसियस जुनियरले गरेका थिए।

खेलमा भएका ४ गोल मध्ये ३ गोल दोस्रो हाफमा भएका थिए भने एक गोल पहिलो हाफमा भएको थियो। पहिलो हाफको इन्ज्युरी समयमा भिनिसियसले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए।

५०औं मिनेटमा बेन्जेमाले गोल गर्दै रियलको अग्रता दोब्बर पारे। उनले लुका मोड्रिचको पासमा गोल गरेका थिए। खेलको ५८औं मिनेटमा रियलले पेनाल्टीको अवसर पाउँदा बेन्जेमा चुकेनन्।

८०औं मिनेटमा बेन्जेमाले ह्याट्रिक पूरा गरे। सो गोल बेन्जेमाले भिनिसियसकै पासमा गोल गर्न सफल भएका थिए। रियलले दुई साता अगाडी स्पेनिस ला लिगामा बार्सिलोनासँग हार बेहोरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *