June 25, 2024

पछिल्ला केही दिनको हल्लालाई मान्ने हो भने अर्जेन्टिनी स्टार लियोनल मेस्सी पनि आफ्ना चिर-प्रतिद्वन्दी क्रिस्टियानो रोनाल्डोको बाटो पछ्याउन सक्छन्। उनलाई अनुबन्ध गर्न साउदी क्लब अल-हिलालले प्रति वर्ष ४०० मिलियन युरोको प्रस्ताव पनि गरिसकेको छ।

तर उनी अझै युरोप मै खेल्ने पक्षमा रहेको बुझिएको छ। यस्तोमा ३५ वर्षीय स्टारसँग मात्र दुई विकल्प रहेको विभिन्न मिडिया रिपोर्टले दाबी गरेका छन्। पहिलो विकल्प पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग सम्झौता नवीकरण गर्नु हो भने अर्को विकल्प पूर्व क्लब बार्सिलोना फर्किनु हुनसक्छ।

जारी सिजनको अन्त्यमा पीएसजी सँगको सम्झौता समाप्त हुने हुँदा फ्रेन्च क्लब उनको सम्झौता नवीकरण गर्न आतुर रहेको भनिएपनि दुई पक्ष बीच कुनै सहमति भने जुटेको छैन। यस्तोमा, २०२२ विश्वकप विजेता पूर्व क्लब बार्सिलोना फर्किने चर्चा पनि हाल चुलिएको छ।

७ पटकका बालोन डी’ ओर विजेता पनि क्याटालान क्लब फर्किन चाहेको भनिएको छ। यस्तोमा, लियोन लिजेन्ड जुनिन्होले अर्जेन्टिनाका खेलाडी बार्सिलोना फर्किनुपर्ने बताएका छन्।

जुनिन्होले पीएसजीका सुपरस्टारलाई क्रिस्टियानो रोनाल्डोलाई साउदी अरबमा पछ्याउनुको सट्टा बार्सिलोना फर्कन सल्लाह दिएका हुन्। पूर्व लियोन मिडफिल्डरले सात पटकको बालोन डी’ओरले ब्लाउग्राना क्लबमा पुन: सामेल हुने हो भने आफ्नो तलब कटौती गर्नुपर्ने पनि बुझेका छन्।

आरएमसी स्पोर्टसँग कुरा गर्ने क्रममा उनले भने,”उनी (लियोनल मेस्सी) सबै कुरामा सफल भएका छन्, उनी विश्व च्याम्पियन हुन्, तर समय सबैको लागि बित्छ। मलाई लाग्छ उनको लागि सबैभन्दा राम्रो कुरा बार्सिलोना फर्कनु हो, तर अर्को तरिकामा। पहिलेको जस्तै सम्झौतामा बार्सिलोना फर्कनु समर्थकहरूको लागि राम्रो नहुन सक्छ।”

“यदि उनी आफ्नो हृदय, अर्को भाषण र आजको बार्सिलोनाको अवस्थालाई ध्यानमा राखेर बार्सिलोना फर्के भने यो राम्रो छनोट हुन सक्छ। यो क्रिस्टियानो रोनाल्डो विरुद्धको डर्बीमा जानु भन्दा राम्रो विकल्प हो, साउदी लिगका लागि सबै सम्मानका साथ म यो भन्न चाहन्छु,” उनले थपे।

अर्जेन्टिनी कप्तानका लागि सबैभन्दा उत्तम विकल्प बार्सिलोना फर्किनु भएपनि यदि यो कदम सफल भएमा प्रशिक्षक जाभीका लागि भने निकै कठिन हुने उनको भनाई रहेको छ। बार्सिलोनामा पहिले नै रोबर्ट लेवान्डोस्की जस्ता सुपरस्टार खेलाडीको उपस्थितिले गर्दा यो कदम सोचे जस्तो सहज भने नहुने हुने बताए।

उनले भने,”सबैभन्दा राम्रो विकल्प बार्सिलोना फर्कनु हो, यद्यपि जाभीलाई टोलीमा सन्तुलन खोज्न सजिलो हुने छैन किनभने रोबर्ट लेवान्डोस्की त्यहाँ छन्। बार्सिलोनामा, लियोनल मेस्सीलाई लकर रुम, खेलाडी, समर्थक र शहरको सम्मान छ। उनले बार्सिलोनासँग गरेको काम कसैले गर्न सक्दैन।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *