June 14, 2024

एजेन्सी – साउदी प्रो लिगमा आज राति पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो सम्मिलित अल नासर एक्सनमा उत्रँदैछ। अल नासर किंग सलमान स्पोर्ट सिटी स्टेडियममा एक्सनमा उत्रन लागेको हो।

किंग सलमान स्पोर्ट सिटी स्टेडियममा आज राति अल नासरले अल फेहाको सामना गर्दैछ। साउदी प्रो लिगको जारी सिजनको २३ औं खेलमा अल नासरले आज राति अल फेहाको सामना गर्न लागेको हो।

अल फेहा हाल साउदी प्रो लिग स्ट्यान्डिङमा १० औं स्थानमा छ र यो सिजन अहिलेसम्म आफ्नो उत्कृष्ट प्रदर्शन गर्न सकेको छैन। घरेलु टोली आफ्नो अघिल्लो खेलमा अल हिलालबाट २-० ले पराजित भएका थिए।

अर्कोतर्फ अल नासर अहिले लिग तालिकामा दोस्रो स्थानमा छ र यो सिजन अहिलेसम्म निकै प्रभावशाली रहेको छ । अवे साइडले गत हप्ता अल अदालाहलाई व्यापक ५-० को अन्तरले हराएको थियो र यस खेलमा समान स्कोरलाइन हासिल गर्न खोज्नेछ।

अल नासरले साउदी प्रो लिगको जारी सिजनमा २२ खेलमा मात्रै दुई खेलमा हार बेहोरेको छ। अहिले सम्म अल नासरले १६ खेलमा जित निकालिसकेको छ भने ४ खेलमा बराबरी खेलेको छ।

आज राति नै शिर्ष स्थानको अल इत्तिहाद पनि सिजनको २३ औं खेल खेल्दैछ। आज राति अल इत्तिहादले अल वेहदाको सामना गर्न लागेको हो। सो खेलमा अल इत्तिहाद हार बेहोरेको खण्डमा अथवा बराबरीमा रोकिएको खण्डमा अल नासरले शिर्ष स्थानमा उक्लिने अवसर पाउनेछ।

यस्तै रोनाल्डोका लागि पनि आजको खेल एक अवसरको रुपमा हुनेछ। अल फेहा विरुद्ध गोल गर्न सकेको खण्डमा रोनाल्डो साउदी प्रो लिग गोल्डेन बुट दौडमा अगाडी बढ्नेछन्।

रोनाल्डोले साउदी प्रो लिगमा अल नासरका लागि अहिले सम्म ९ खेल खेलेका छन्। यस बीचमा उनले ११ गोल गरिसकेका छन्। उनी साउदी लिगको जारी सिजनमा सबै भन्दा बढी गोल गर्ने छैठौं खेलाडी रहेका छन्।

आज गोल गर्न सकेको खण्डमा उनी साउदी प्रो लिगको गोल्डेन बुट दौडमा चौथो स्थानमा उक्लिन सक्नेछन्। त्यसको लागि उनले दुई गोल सम्म गर्नुपर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *