June 22, 2024

एजेन्सी – स्पेनिस दिग्गज डिफेन्डर सर्जियो रामोसको भविष्य अनिश्चित छ। रामोस फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)सँगको सम्झौताको अन्तिम महिनाहरुमा छन्। छिट्टै नै उनी र पिएसजी बीचको सम्झौता सकिनेछ।

रामोस सन् २०२१ मा पिएसजी पुगेका हुन्। स्पेनिस महारथी रियल म्याड्रिडसँगको सम्झौता सकिएपछि उनले पिएसजीसँग दुई वर्षको लागि सम्झौता गरेका थिए। रियलले नयाँ सम्झौता नदिएसंगै उनी पिएसजीसँग सम्झौता गर्न बाध्य भएका थिए।

फ्री ट्रान्सफरमा उनले पिएसजीसँग दुई वर्षका लागि गरेको सम्झौता यहि सिजनको अन्त्यमा सकिँदैछ। यस सिजनको अन्त्य पछि उनी पुनः फ्री एजेन्ट हुने छन्। त्यसपछि उनी सित्तैमा विश्वको जुन सुकै क्लबमा जान सक्नेछन्।

रामोस अहिले देखि नै विश्वको जुन सुकै क्लबसँग अग्रिम सम्झौता गर्न खुला भैसकेका छन्। पिएसजीले पनि उनलाई क्लबमै राख्न चाहेको छ। तर पिएसजी रामोसलाई कम पारिश्रमिक दिन चाहन्छ।

पिएसजीले कम पारिश्रमिक दिन खोजेकै कारण रामोसले सम्झौता थप गर्ने विषयमा ठोस निर्णय गर्न सकिरहेका छैनन्। यसैबीच स्पेनिस मिडियाहरुले रामोसलाई साउदी अरेबियन एक क्लबले भित्र्याउन खोजेको दावी गरिरहेका छन्।

स्पेनिस मिडियाहरुले रामोसले साउदी क्लब अल नासरले भित्र्याउन खोजेको दावी गरेका हुन्। पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो सम्मिलित अल नासरले रामोसलाई आउने ट्रान्सफर विन्डोमा भित्र्याउन खोजेको स्पेनिस पत्रिका एल नासियोनलले जनाएको छ।

रामोसको भविष्य अनिश्चित छ र उनी मध्य पूर्व गएर खेल्न सक्ने बाटोमा पनि हुन सक्छन्। यदि खेलाडी साँच्चै अल-नासरमा सामेल भएमा उनी क्रिस्टियानो रोनाल्डोसँग पुन: मिल्नेछन्।

अल नासरले रामोसलाई उच्च पारिश्रमिक समेत दिन सक्ने चर्चा गरिन्छ। अल नासरले रोनाल्डोलाई वार्षिक २ सय मिलियन युरो पारिश्रमिक दिने भैसकेको छ। रोनाल्डोलाई यति धेरै पारिश्रमिक दिएका कारण रामोसले पनि पिएसजी भन्दा उच्च पारिश्रमिक पाउन सकनेछन्।

रामोस र रोनाल्डो रियल म्याड्रिडमा नौ वर्ष सम्म संगै खेलेका थिए। दुईले एक अर्कालाई लामो समय साथ दिएका थिए। रियलमा रहेर दुवैले कयौं उपाधि जितेका थिए। उनीहरुले लगातार तीन सफलता सहित चार UEFA च्याम्पियन्स लिग ट्रफीहरू सँगै जितेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *