June 16, 2024

एजेन्सी – स्पेनिस पत्रिका मार्काले गरेको दावी अनुसार रियल म्याड्रिडका सुपरस्टार करिम बेन्जेमाले क्रिस्टियानो रोनाल्डोसँगै खेल्न साउदी अरबमा जाने प्रस्ताव अस्वीकार गरेका छन्।

साउदी क्लब अल नासरबाट आएको प्रस्तावलाई बेन्जेमाले सिधै अस्विकार गरेको मार्काले जनाएको छ। फ्रान्सेली स्ट्राइकर हाल लस ब्लान्कोससँगको सम्झौताको अन्तिम महिनामा छन्। आउने केहि महिनाभित्रै रियल र बेन्जेमा बीचको सम्झौता सकिनेछ।

रियलले बेन्जेमालाई क्लबमै राख्न चाहेको छ। तर बेन्जेमाले भने पारिश्रमिकका कारण रियलबाट आएको प्रस्ताव स्वीकार गर्न सकेका छैनन्। खबरका अनुसार रियल बेन्जेमालाई उनले अहिले पाउँदै आएको पारिश्रमिक दिन तयार छैन।

बेन्जेमाले रियलसँगको सम्झौता थप नगर्ने सम्भावना देखिन थालेसंगै विश्वभरका क्लबहरुको ध्यान उनीतर्फ केन्द्रित भएको छ। बेन्जेमालाई युरोप अमेरिका र साउदी अरबका क्लबहरुले भित्र्याउन चाहेका छन्।

उनलाई हालसालै साउदी क्लब अल नासरले प्रस्ताव गरेको र सो प्रस्ताव उनले सिधै अस्विकार गरेको मार्काले जनाएको छ। मार्काका अनुसार बेन्जेमाले केहि समय उच्च स्तरमा युरोपमै फुटबल खेल्न चाहेका छन्।

अल नासर बेन्जेमालाई रियल म्याड्रिडले अहिले दिँदै आएको भन्दा पनि बढी पारिश्रमिक दिन तयार रहेको छ। तर पनि बेन्जेमा भने अल नासर जान तयार छैनन्।

बेन्जेमाका पूर्व सहकर्मी क्रिस्टियानो रोनाल्डो मध्य पूर्वी देश साउदी अरबको अल नासरबाट खेल्छन्। तर, बेन्जेमाले अल नासरबाट आएको प्रस्ताव अस्वीकार गरेको बताइएको छ।

बेन्जेमा रोनाल्डोपछि रियल म्याड्रिडका दोस्रो सर्वाधिक गोलकर्ता हुन्। उनले स्पेनिस क्लबका लागि हालसम्म ६३७ खेलमा ३४८ गोल गरेका छन् । रोनाल्डोले २०१८ मा युभेन्टस जानुअघि ४३८ खेलमा ४५० गोल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *