June 16, 2024

एजेन्सी – युइएफए युरोपा लिगको क्वाटरफाइनलमा प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले झड्का भेटेको छ। जितिसकेको खेल हातबाट फुत्किएसंगै युनाइटेडलाई झड्का लागेको हो।

बिहिबार राति युरोपा लिगको क्वाटरफाइनलमा युनाइटेडले स्पेनिस क्लब सेभियाको सामना गर्यो। घरेलु मैदानमा भएको खेलमा युनाइटेडले सेभिया विरुद्ध बराबरीमा रोकिन बाध्य भएको हो।

खेलको सुरुवातमै अग्रता लिएपनि खेलको अन्त्यमा सम्हालीन नसक्दा युनाइटेडको हातबाट जित उम्किएको हो। युनाइटेडले बलमा राम्रो नियन्त्रण राखेपनि दोस्रो हाफमा भने खराब खेल्न पुगेको थियो।

बलमा युनाइटेडको ५५ प्रतिशत नियन्त्रण थियो। खेलभर युनाइटेडको तर्फबाट कुल १२ प्रहार भएका थिए। त्यसमध्ये ५ प्रहार टार्गेटमा थिए भने २ प्रहार गोलमा समेत परिणत भएका थिए।

युनाइटेडका लागि दुवै गोल मार्सेल सवित्जरले गरेका थिए। दुवै गोल पहिलो हाफमा आएका थिए। ओल्ड ट्राफोर्डमा बिहीबार राति भएको खेलको १४औं मिनेटमा युनाइटेडले अग्रता लिएको थियो।

मार्सेल सवित्जरले सो गोल ब्रुनो फर्नान्डेसको पासमा गर्न सफल भएका थिए। त्यसको केहि मिनेटमै युनाइटेडको अग्रता दोब्बर भयो, जब सवित्जरले अर्को गोल गरे। खेलको २१ औं मिनेटमा उनले एन्थोनी मार्सियालको पासमा गोल गर्न सफल भएका थिए।

पाहुना टोली सेभियाको तर्फबाट भने खेलभर १३ प्रहार भएका थिए। त्यसमध्ये ३ प्रहार टार्गेटमा हुँदा २ प्रहार गोलमा परिणत भए। ८४औं मिनेटमा टेलर मालासियाले आत्मघाती गोल गरेका थिए।

त्यसपछि इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा पनि युनाइटेडको तर्फबाट आत्मघाती गोल भएको थियो। त्यसबेला ह्यारी मगाएरले आत्मघाती गोल गरेका थिए। सो गोल संगै खेल बराबरीमा रोकिन पुगेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *