June 14, 2024

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई सिजनको महत्वपूर्ण समयमा ठूलो झड्का लागेको छ। सिजनको महत्वपूर्ण समयमा महत्वपूर्ण खेलाडी घाइते भएसँगै युनाइटेडलाई ठूलो झड्का लागेको हो।

युनाइटेडका सेन्टर ब्याक लिसान्ड्रो मार्टिनेजका लागि यो सिजन सकिएको छ। चोटका कारण अब उनी यो सिजनभर मैदानमा हुने छैनन्। दायाँ खुट्टाको मेटाटर्सल हड्डी भाँचिएसंगै उनका लागि यो सिजन सकिएको हो।

बिहीबार राति युरोपा लिगको क्वाटरफाइनलको पहिलो लेगमा युनाइटेडले स्पेनिस क्लब सेभियाको सामना गरेको थियो। सो खेलका क्रममा मार्टिनेज घाइते हुन पुगेका थिए।

२–२ गोलको बराबरीमा रोकिएको खेलमा मार्टिनेजले चोट बोक्न पुगेका थिए। खेलमा युनाइटेड २–१ ले अघि रहेको अवस्थामा खेलको ८६औं मिनेटमा मार्टिनेज घाइते भएका थिए।

मार्टिनेज घाइते भएपछि उनलाई सेभियाका खेलाडीहरुले बोकेर मैदान बाहिर पुर्याएका थिए। सेभियाका दुई अर्जेन्टिनी खेलाडीहरुले आफ्ना राष्ट्रिय टोलीका सहकर्मीलाई बोकेर मैदान बाहिर पुर्याएका हुन्।

उनलाई मैदान बाहिर पुर्याउन सेभियाका गोन्जालो मोन्टिएल र उनका अन्तर्राष्ट्रिय टोलीका साथी मार्कोस अकुनाले मद्दत गरेका थिए। त्यसपछि उनलाई स्ट्रेचरमा उपचारका लागि लागिएको थियो।

मार्टिनेज गत जुलाईमा डच क्लब आयाक्सबाट युनाइटेड आइपुगेका हुन्। उनका लागि युनाइटेडले ५७ मिलियन पाउण्ड खर्च गरेको थियो। यस सिजन युनाइटेडका लागि प्रिमियर लिगमा २७ खेल खेलेका छन्।

मार्टिनेज युनाइटेडका लागि मात्र नभई अर्जेन्टिनाका लागि पनि महत्वपूर्ण खेलाडी रहेका छन्। उनी अर्जेन्टिनाले विश्वकप जित्दा सो टोलीमा पनि थिए र उनले विश्वकपमा उच्च प्रदर्शन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *