June 16, 2024

साउदी अरेबियाका क्लबहरूले युरोपका ५० भन्दा बढी एलिट खेलाडीहरूलाई लक्षित गर्दै छन्, जसमा लियोनल मेस्सी सबैभन्दा ठूलो नाम भएको बुझिएको छ। क्रिस्टियानो रोनाल्डो जनवरीमा अल-नासरमा सामेल भएसँगै साउदी प्रो लिगमा ठूलो उछाल आएको छ।

गत नोभेम्बरमा म्यानचेस्टर युनाइटेडसँग आपसी सहमतिमा सम्झौता रद्द गरेपछि रोनाल्डोले युरोप छाडेर मध्य पूर्वी राष्ट्र लागेपछि विश्व फुटबलमा एक प्रकारको तरंग नै पैदा भएको थियो। उनी साउदी अरेबियन क्लब अल-नासरसँग सामेल भएका छन्।

उक्त त्रनास्फ़रपछि पाँच पटकको बालोन डी’ओर विजेता प्रति वर्ष £ १७२ मिलियनको पारिश्रमिकको साथमा विश्वको सबैभन्दा धेरै कमाउने फुटबलर बनेका हुन्। यससँगै विभन्न साउदी क्लबले अनेक विश्व स्तरीय खेलाडीलाई अनुबन्ध गर्ने दाउ बनाएका छन्।

अब, टकस्पोर्टले रिपोर्ट गरे अनुसार, युरोपका ५० भन्दा बढी एलिट खेलाडीहरूलाई खाडी राज्यमा रियल म्याड्रिडका पूर्व सुपरस्टारलाई पछ्याउन आग्रह गर्न सकिनेछ, जसमा उनका अनन्त प्रतिद्वन्द्वी लियोनल मेस्सी पनि सामेल छन्।

कतारले हालै सम्पन्न २०२२ विश्वकप निकै भव्यका साथ आयोजना गरेपछि साउदी अरेबियाले २०३० को विश्वकप आयोजना गर्न बोली बढाउन खोजिरहेको समयमा उनीहरूले युरोपका शीर्ष खेलाडीहरूलाई नि:शुल्क स्थानान्तरणमा अनुबन्ध गर्न प्रयास गर्ने पक्का रहेको छ।

यस्तोमा, लियोनल मेस्सी सहित युरोपभरि शीर्ष-छ लिगहरूमा धेरै ठूला नामहरूको सम्झौता यस गर्मीमा समाप्त हुँदैछ। अर्जेन्टिनाका सुपरस्टारको पेरिस सेन्ट-जर्मेन (पीएसजी) सँगको सम्झौता जारी सिजनको अन्त्यमा समाप्त हुँदैछ।

७ पटकका बालोन डी’ ओर विजेतालाई साउदी पक्ष अल हिलालले ठूलो पैसा प्रस्तावको साथ प्रलोभनमा पार्ने प्रयास गरिरहेको विश्वास गरिन्छ। विश्वकप विजेता फरवार्ड बाहेक, लिभरपुलका स्ट्राइकर रोबर्टो फिर्मिनो, रियल म्याड्रिडका कप्तान करिम बेन्जेमा र म्यानचेस्टर सिटीका मिडफिल्डर इल्के गुन्डोगनलाई पनि मध्य पूर्वी राष्ट्रमा ल्याउने प्रयास गरिनेछ।

साउदी अरेबियाको यस्तो योजनालाई कथित रूपमा साउदी अरेबियाको खेलकुद मन्त्रालयले समर्थन गरेको छ, जसले इजिप्ट र ग्रीसको साथमा त्रिमहाद्वीपीय २०३० विश्वकप आयोजना गर्न प्रस्ताव पेश गर्ने अपेक्षा गरिएको छ।

चेल्सीका एनगोलो कान्टे, रियल म्याड्रिडका टोनी क्रुस र लुका मोड्रिच र युभेन्टसका एन्जेल डि मारियालाई पनि साउदी अरेबियाका विभिन्न टोलीले निशाना बनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *