June 16, 2024

एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सी र फ्रेन्च युवा स्टार किलियन एम्बाप्पे दुवै चम्किँद फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन(पिएसजी)ले सहज जित निकाल्न सफल भएको छ।

पिएसजीले शनिबार राति घरेलु मैदानमा भएको खेलमा लिग प्रतिद्वन्दी लेन्स विरुद्ध सहज जित निकाल्न सफल भएको हो। शीर्षस्थानमा रहेको पिएजिीले दोस्रो स्थानमा रहेको लेन्सलाई ३-१ को गोल अन्तरले पराजित गर्यो।

पार्क डेस प्रिन्सेसमा शनिबार राति भएको खेलमा पिएसजीले सुरुवात देखि नै बलमा राम्रो नियन्त्रण राखेको थियो। खेलभर बलमा पिएसजीको ६३ प्रतिशत नियन्त्रण थियो। खेलभर पिएसजीको तर्फबाट १५ प्रहार भएका थिए।

त्यसमध्ये ७ प्रहार टार्गेटमा थिए भने तीन प्रहार गोलमा परिणत भए। पाहुना टोली लेन्सको तर्फबाट खेलभर १४ प्रहार भएका थिए। त्यसमध्ये ७ नै प्रहार टार्गेटमा थिए।

पिएसजीको तर्फबाट भएका तीनै गोल पहिलो हाफमा भएका थिए। दोस्रो हाफमा भने पिएसजीले गोल थप्न सकेन। दोस्रो हाफमा लेन्सले एक सान्त्वना गोल फर्काउण सफल भएको थियो। सो गोल पेनाल्टीमा आएको थियो।

खेलको १९ औं मिनेटमै लेन्स १० खेलाडीमा सिमित भएको थियो। मिडफिल्डर सालिस अब्दुल समेद १९औ मिनेटमा नै सिधैं रातो कार्ड खाँदै मैदानबाट बाहिरिन बाध्य भएका थिए।

३१औं मिनेटमा एमबाप्पेले पिएसजीलाई पहिलो सफलता दिलाएका थिए। उनले भिटिन्हाको पासमा गोल गरेका थिए। ३७औं मिनेटमा भिटिन्हाले पिएसजीको अग्रता दोब्बर पारे। उनले नुनो मेन्डेसको पासमा गोल गर्न सफल भए।

अर्जेन्टिनी स्टार मेस्सीले पिएसजीलाई तेस्रो सफलता दिलाए। उनले खेलको ४० औं मिनेटमा पिएसजीका लागि तेस्रो गोल गरेका थिए। उनले एमबाप्पेको पासमा गोल गर्न सफल भएका हुन्।

६०औं मिनेटमा प्रजेमिस्लाव फ्रान्कोस्कीले पेनाल्टीमा गरेको गोल लेन्सका लागि सान्त्वना बन्न पुग्यो। लेन्स विरुद्ध जित निकालेसंगै पिएसजीले शिर्ष स्थानमा स्पष्ट ९ अंकको अग्रता बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *