June 14, 2024

एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)ले शनिबार राति महत्वपूर्ण खेल खेल्यो। पिएसजीले घरेलु मैदानमा फ्रेन्च लिग वानको निकटतम प्रतिद्वन्दी लेन्सको सामना गरेको थियो।

लेन्स विरुद्धको खेल पिएसजीका लागि विभिन्न कारणले गर्दा महत्वपूर्ण थियो। लेन्स विरुद्ध जित निकाल्नै पर्ने दबाबमा पिएसजी थियो। तर पिएसजीले सहजै लेन्स विरुद्ध जित निकाल्न सफल भयो।

पार्क डेस प्रिन्सेसमा भएको खेलमा पिएसजीले लेन्सलाई ३-१ को गोल अन्तरए पराजित गर्न सफल भयो। पिएसजीले पहिलो हाफमै ३-१ को अग्रता लिन सफल भएको थियो।

तर दोस्रो हाफमा भने पिएसजीले गोल थप्न सकेन। लेन्सले भने दोस्रो हाफआ एक गोल फर्कायो। पिएसजीका लागि एम्बाप्पे, भिटिन्हा र लियोनेल मेस्सीले गोल गर्दा लेन्सका लागि प्रजेमिस्लाव फ्रान्कोस्कीले गोल गरेका थिए।

३१औं मिनेटमा एमबाप्पेले पिएसजीलाई पहिलो सफलता दिलाएका थिए। उनले भिटिन्हाको पासमा गोल गरेका थिए। सो गोलसंगै एम्बाप्पेले एक रेकर्ड पनि बनाएका छन्। एम्बाप्पेले पिएसजीकै एक पूर्व खेलाडीको रेकर्ड तोड्न सफल भएका हुन्।

लेन्स विरुद्ध गोल गरेसंगै फ्रेन्च लिग वानमा एम्बाप्पेको गोल संख्या १ सय ३९ पुगेको छ। त्यससंगै उनले पिएसजीक पूर्व खेलाडी एडिसन काभानीलाई पछि पारे।

फ्रेन्च लिग वानमा काभानीले कुल १ सय ३८ गोल गरेका थिए। तर एम्बाप्पेले अब उनलाई पछि पारिसकेका छन् र उनी फ्रेन्च लिग वानको सर्वाधिक गोल कर्ता बन्न सफल भएका छन्।

एम्बाप्पेले रेकर्ड तोड्दा मेस्सी पनि एक महत्वपूर्ण रेकर्डको नजिक पुगेका छन्। खेलको ४० औं मिनेटमा एम्बाप्पेको पासमा गोल गरेसंगै मेस्सीले रोनाल्डोको एक रेकर्डसँग बराबरी गरेका हुन्।

युरोपका शिर्ष पाँच लिगमा सबै भन्दा बढी गोल गर्ने खेलाडीको रेकर्डमा मेस्सीले रोनाल्डोसँग बराबरी गरेका हुन्। लालिगा र फ्रेन्च लिग वान गरी मेस्सीले दुई लिगमा ४ सय ९५ गोल गरेका छन् भने रोनाल्डोले पनि लालिगा, प्रिमियर लिग र सिरी ‘ए’ गरी तीन लिगमा ४ सय ९५ नै गोल गरेका छन्।

मेस्सीको ४ सय ९५ लीग गोलहरू मध्ये ४ सय ७४ गोल उनको १७ वर्षको बार्सिलोना बसाईका क्रममा आएका थिए। जबकि बाँकी २१ गोल सन् २०२१ मा उनले क्लब परिवर्तन गरेर पिएसजी पुगेका पछि आएका हुन्।

रोनाल्डोले रियल मड्रिड (३११), म्यानचेस्टर युनाइटेड (१०३) र युभेन्टस (८१) गरी तीन फरक टोलीबाट ४९५ गोल गरेका छन्। रोनाल्डोले म्यानचेस्टर युनाइटेड, युभेन्टस र रियल म्याड्रिड गरी तीन क्लबबाट खेल्दा इंगलिस प्रिमियर लिग, इटालियन सिरी ‘ए’ र स्पेनिस लालिगामा कुल ४ सय ९५ गोल गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *