June 16, 2024

एजेन्सी – लिभरपुलले प्रिमियर लिगमा सानदार जित निकालेको छ। प्रिमियर लिगको जारी सिजनमा धेरै कम्जोर लयमा रहेको लिभरपुलले सोमबार राति सानदार जित निकालेको हो।

सोमबार राति भएको खेलमा लिभरपुलले लिड्स युनाइटेडको घरेलु मैदानमा गोलवर्षा नै गर्यो। लिभरपुलले लिड्सलाई ६-१ को गोल अन्तरले पराजित गर्न सफल भएको थियो।

लिड्स विरुद्ध लिभरपुलले बलमा राम्रो नियन्त्रण राख्दै धेरै राम्रो आक्रमण गरेको थियो। खेलभर बलमा लिभरपुलको ७४ प्रतिशत नियन्त्रण थियो। लिभरपुलले खेलभर कुल १५ प्रहार गरेको थियो।

त्यसमध्ये ७ प्रहार टार्गेटमा थिए भने त्यसमध्ये ६ प्रहार गोलमा परिणत भए। लिड्सको तर्फबाट खेलभर १३ प्रहार भएका थिए। त्यसमध्ये ३ प्रहार टार्गेटमा रहँदा एक प्रहार मात्र गोलमा परिणत भयो।

लिभरपुलको सानदार जितमा मोहम्मद सलाह र डिएगो जोटाले समान दुई गोल गर्दा कोडी गाक्पो र डार्विन नुनेजले समान एक गोल गर्न सफल भए। लिड्सका लुइस सिनिसटेराले गरेको एक गोल सान्त्वना बन्न पुग्यो।

लिभरपुलले खेलको ३५औं मिनेटमा कोडी गाक्पोको गोलबाट खाता खोलेको थियो। उनले ट्रेन्ट एलेक्सान्डर आर्नाेल्डको पासमा गोल गर्न सफल भएका थिए। त्यसको केहि मिनेट नबित्दै लिभरपुलको अग्रता दोब्बर भएको थियो।

३९औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई २-० को अवस्थामा पुर्याएका थिए। उनले डिएगो जोटाको पासमा गोल गरेका थिए। ४७औं मिनेटमा लुइस सिनिसटेराले गोल गर्दै लिड्सलाई खेलमा फर्काउने प्रयास गरे। तर त्यसपछि निरन्तर चार गोल भए।

५२औं मिनेटमा जोटाले कर्टिस जोन्सको पासमा गोल गरे। ६४औं मिनेटमा मोहम्मद सलाहले गाक्पोको पासमा गोल गर्दा खेल ४–१को अवस्थामा पुग्यो।

७३औं मिनेटमा जोटाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गरे। उनले जोर्डन हेन्डरसनको पासमा गोल गर्न सफल भएका थिए। इन्ज्युरी समयमा परिवर्तित खेलाडी नुनेजले टोलीका लागि छैठौं गोल गरे। उनले ट्रेन्ट एलेक्सान्डर आर्नाेल्डको पासमा गोल गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *