June 22, 2024

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिड च्याम्पियन्स लिगको उपाधिको रक्षा गर्न दृढ देखिएको छ। गत सिजन च्याम्पियन्स लिग जितेको रियल यस सिजन पनि च्याम्पियन्स लिग जित्ने अभियानमा देखिएको हो।

मंगलबार राति च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियलले सहज जित निकाल्न सफल भयो। रियलले प्रिमियर लिग क्लब चेल्सी माथि सहज जित निकाल्न सफल भएको हो।

रियलले चेल्सी विरुद्धको खेलमा बलमा बढी नियन्त्रण राख्न नसकेपनि सठीक आक्रमण सँग-संगै सठीक डिफेन्ड पनि गर्यो। खेलभर रियलले बलमा मात्र ४५ प्रतिशत नियन्त्रण राखेको थियो।

खेलभर रियलको तर्फबाट मात्र ९ प्रहार भएका थिए। त्यसमध्ये ६ प्रहार टार्गेटमा थिए भने दुई प्रहार गोलमा परिणत भए। चेल्सीले भने खेलभर बलमा राम्रो नियन्त्रण राखेर पनि गोल गर्न सकेन।

खेलभर चेल्सीले कुल १९ प्रहार गरेको थियो। त्यसमध्ये ६ प्रहार टार्गेटमा थिए। तर कुनै पनि प्रहार गोलमा परिणत हुन भने सकेनन्। स्टामफोर्ड ब्रिजमा भएको खेलमा दुवै गोल दोस्रो हाफमा आएका थिए।

दुवै गोल रोड्रिगोले गरेका थिए। रोड्रिगोले ५८औं मिनेटमा रियलका लागि खाता खोलेका थिए। उनले ब्राजिली विंगर भिनिसियस जुनियरको पासमा गोल गर्न सफल भएका थिए।

त्यस्तै रियलका लागि दोस्रो गोल पनि रोड्रिगोले नै गरे। रोड्रिगोले ८०औं मिनेटमा फेडे भाल्भेर्डेको पासमा गोल गर्दै रियलको जित सुनिश्चित गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *