June 22, 2024

एजेन्सी – च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा भोगेको हारको बदला लिने योजना सहित जर्मन क्लब बायर्न म्युनिखले आज राति म्यानचेस्टर सिटीको सामना गर्दैछ।

बायर्नले घरेलु मैदानमा पाहुना टोली म्यानचेस्टर सिटीको सामना गर्न लागेको हो। सिटी र बायर्न एलियान्ज एरिनामा नेपाली समय अनुसार आज राति १२ बजेर ४५ मिनेटमा आमने-सामने हुन्छन्।

बायर्नले च्याम्पियन्स लिगको पहिलो लेगमा सिटीसँग हार बेहोरेको थियो। सिटीको घरेलु मैदानमा भएको खेलमा बायर्न ३-० को गोल अन्तरले हारेको थियो। आज राति बायर्न सो हारको बदला लिने दाउमा हुन्छ।

सिटीको सामना गर्दा पक्कै पनि बायर्न दबाबमा हुनेछ। किनभने बायर्न पहिला नै ३-० को गोल अन्तरले पछि परिसकेको छ। सिटीलाई पन्छाएर च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाउन थोमस टुचेलको पक्षलाई सिटी विरुद्ध ३-० भन्दा बढीको अग्रता आवश्यक पर्नेछ।

तर सिटीलाई भने बायर्न विरुद्ध हारेपनि फरक पर्नेछैन। बायर्न विरुद्ध ३ गोल अन्तरको पराजय भन्दा कम पराजय भएपनि सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्नेछ।

तर बायर्नले कम्ब्याक गर्न सक्ने सम्भावनालाई नकार्न भने सकिँदैन। घरेलु मैदानमा बायर्नले कम्ब्याक गरेका धेरै उदाहरण छन् र घरेलु मैदानमा बायर्नले यस सिजन धेरै गोल गरेको छ।

बायर्न जर्मन लिगको जारी सिजनमा सबै भन्दा बढी गोल गर्ने क्लबको रुपमा रहेको छ। बायर्न बुन्डेसलिगामा ७८ गोलको साथ अग्रस्थानमा छ। यो स्रो स्थानमा रहेको बोरुसिया डर्टमण्डभन्दा १६ बढी हो।

ती ७८ गोल मध्ये, ४४ एलियान्ज एरिनामा आएका छन्। बायर्नसँग सिटी विरुद्ध कम्ब्याक गर्ने टोली छ, तर त्यसको लागि बायर्नले एक भएर सिटी विरुद्ध खेल्नुपर्नेछ। केहि समय अगाडी माने र साने बीच लफडा नै भएको थियो।

टोलीका मुख्य खेलाडी बीच लफडा हुनु पक्कै पनि सुखद संकेत होइन। तर सिटी विरुद्ध भने यी दुई खेलाडी एक भएर खेल्नेछन् भन्ने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *