June 25, 2024

एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)ले अर्जेन्टिनी स्टार लियोनेल मेस्सी र ब्राजिलियन स्टार नेयमार दुवैलाई बिदाई गर्ने भएको छ। च्याम्पियन्स लिगमा कुनै महत्वपूर्ण सफलता हाँसिल गर्न नसकेसंगै पिएसजीले मेस्सी र नेयमार दुवैलाई बिदाई गर्ने तयारी गरेको हो।

पिएसजीले मेस्सी र नेयमार दुवैलाई आउने समर ट्रान्सफर विन्डोमा बिदाई गर्ने योजना बनाएको विभिन्न फ्रेन्च मिडियाहरुले जनाएका छन्। पिएसजीले दुवै खेलाडीलाई यस सिजनको अन्त्यमा बिदाई गर्ने योजना बनाएको बताइन्छ।

मेस्सी र पिएसजी बीचको सम्झौता यहि सिजनको अन्त्यमा सकिँदैछ। तर मेस्सी र पिएसजी बीच सम्झौता थपको विषयमा सहमति हुन सकेन। पिएसजीले पारिश्रमिक घटाउन खोजेसंगै सहमति हुन नसकेको हो।

नेयमार र पिएसजी बीच त सन् २०२७ सम्मका लागि सम्झौता छ। तर नेयमारसँग पिएसजी सन्तुष्ट छैन र पिएसजीले उनको स्थानमा युवा खेलाडीले मौका दिन चाहेको छ। पिएसजीले नेयमारलाई कुनै पनि हालतमा बिक्री गर्ने योजना बनाएको छ।

नेयमारमा धेरै प्रिमियर क्लबहरुले चासो देखाएका छन्। नेयमार भित्र्याउन चाहने क्लबहरुमा चेल्सी, न्यू क्यासल, म्यानचेस्टर सिटी, आर्सनल र म्यानचेस्टर युनाइटेड लगायत छन्।

त्यस्तै मेस्सी भने बार्सिलोना फर्किन सक्ने उच्च सम्भावना रहेको छ। मेस्सी माथि युरोपकै केहि क्लबका साथ-साथै अमेरिकी तथा साउदी अरेबियन क्लबहरुको नजर रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *