June 22, 2024

एजेन्सी – गत फेब्रुअरी देखि पेरिस सेन्ट जर्मेन(पिएसजी)का ब्राजिलियन स्टार नेयमार मैदान बाहिर छन्। लिल विरुद्धको खेलका क्रममा नेयमार घाइते भएका थिए। सो खेलपछि नेयमारले कुनै पनि खेल खेलेका छैनन् र यस सिजन कुनै पनि खेल खेल्ने छैनन्।

नेयमारको खुट्टामा लागेको चोट गम्भीर निस्कियो र शल्यक्रिया पनि गरियो। यति बेला नेयमार आराम गरिरहेका छन्। नेयमार आफ्नो खुट्टा ठीक हुने र मैदान फर्किने दिन कुरिरहेका छन्।

नेयमारको खुट्टा ठीक हुनु भन्दा अगाडी नै उनको भविष्य बारे चर्चा सुरु भएको छ। विभिन्न फ्रेन्च मिडियाहरुका अनुसार पिएसजीले अहिले देखि नै नेयमारको बिक्रीको तयारी सुरु गरिसकेको छ। समर ट्रान्सफर विन्डो सुरु हुनु भन्दा अगाडी नै पिएसजीले नेयमारको बिक्रीका लागि तयारी सुरु गरिसकेको बताइन्छ।

यसैबीच नेयमार भित्र्याउन चाहने क्लबहरुको सूचीमा नयाँ क्लबको पनि इन्ट्री भएको छ। नेयमार भित्र्याउने दौडमा चेल्सी, न्यूक्यासल युनाइटेड, म्यानचेस्टर सिटी जस्ता क्लब रहेको अवस्थामा सो दौडमा म्यानचेस्टर युनाइटेडको पनि इन्ट्री भएको हो।

युनाइटेडले पनि नेयमारलाई नजिकबाट नियालिरहेको विभिन्न बेलायती मिडियाहरुले जनाएका छन्। युनाइटेडले नेयमारका लागि आउने समर ट्रान्सफर विन्डोमा बोली लगाउने तयारी गरिरहेको बताइन्छ।

नेयमारले घाइते हुनु भन्दा अगाडी पिएसजीका लागि यस सिजन २९ खेल खेलेका थिए। जसमा उनले १८ गोल गरेका थिए भने १७ असिस्ट दिएका थिए। विशेष गरेर उनले विश्वकप अगाडी उच्च प्रदर्शन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *