June 16, 2024

एजेन्सी – प्रिमियर लिगमा आज राति महासंग्राम हुँदैछ। प्रिमियर लिगको जारी सिजनका उपाधिका दाबेदार म्यानचेस्टर सिटी र आर्सनल बीच महासंग्राम हुन लागेको हो। आज राति सिटी र आर्सनल सिटीको घरेलु मैदानमा आमने-सामने हुनेछन्।

आर्सनल यति बेला प्रिमियर लिगको शिर्ष स्थानमा छ। आर्सनलले सिजनका ३२ खेल खेल्दा २३ खेलमा जित निकालेको छ भने ३ खेलमा हार बेहोरेको छ। त्यस्तै ६ खेलमा आर्सनलले बराबरी खेलेको छ। सिजनका ३२ खेलबाट आर्सनलले ७५ अंक बटुलेको छ।

आर्सनल भन्दा २ खेल कम खेलेको सिटीले अहिले सम्म ७० अंक बटुलिसकेको छ। सिटीले यस बीचमा २२ खेलमा जित निकाल्दा ४ खेलमा पराजय भोगेको छ। त्यस्तै ४ खेलमा सिटी बराबरी रोकिएको छ।

आजको खेलमा दुवै टोली जित निकाल्ने दाउ सहित मैदानमा उत्रनेछ। आज राति जित निकाल्ने टोली प्रिमियर लिगको उपाधि नजिक पुग्नेछ। सिजनको सुरुवात देखि नै आर्सनलले प्रिमियर लिगको शिर्ष स्थानमा कब्जा जमाइरहेको छ।

तर अब भने शिर्ष स्थानमा उसको पकड धरापमा परेको छ। पछिल्ला तीन खेलमा बराबरीमा रोकिँदा आर्सनललाई पर्न सम्म समस्या परेको छ। ३ खेलमा बराबरीमा रोकिँदा आर्सनलले ६ अंक गुमाइसकेको छ।

आर्सनलले पछिल्ला पाँच खेल मध्ये मात्र २ खेलमा जित निकालेको छ। त्यस्तै सिटीले भने प्रिमियर लिगमा निरन्तर जित निकालिरहेको छ। सिटीले प्रिमियर लिगका पछिल्ला पाँच खेल मध्ये पाँचै खेलमा जित निकालेको छ।

सिटी र आर्सनल बीच पछिल्लो पटक फेब्रुअरी महिनामा भेट भएको थियो। आर्सनलको घरेलु मैदानमा सिटी ३-१ को गोल अन्तरले विजयी भएको थियो। आर्सनलसँग सो हारको बदला लिने अवसर आज हुन सक्छ। आज सिटी विरुद्ध जित निकालेको खण्डमा मात्रै आर्सनल प्रिमियर लिगको उपाधि होडमा हुनेछ। अन्यथा आर्सनलले प्रिमियर लिग जित्न सिटीको नतिजामा भर पर्नुपर्नेछ।

सिटीका युवा स्टार एर्लिङ हालाण्ड गएको केहि समय देखि धेरै राम्रो लयमा छन्। पछिल्लो दुई महिनामा उनले झन्डै एक दर्जन गोल गरिसकेका छन्। उच्च लयमा रहेका उनलाई रोक्न आर्सनललाई हम्मे-हम्मे नै पर्न सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *