June 22, 2024

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोली देशमै भइरहेको एसिसी प्रिमियर कपको विजेता बन्ने अभियानमा छ। समूहचरणका तीन खेल खेल्दै नेपालले सेमिफाइनलको यात्रा तय गरिसकेको छ। नेपालले समूहचरणको अन्तिम खेलमा कतारको सामना गर्दैछ।

नेपाल र कतार बीचको खेल बिहिबार टियु क्रिकेट मैदानमा हुनेछ। समूह ए मा रहेको नेपालले यस अगाडीका तीन खेल मध्ये २ खेलमा जित निकालेको छ भने एक खेलमा बराबरी खेलेको छ।

नेपालले मलेसिया र ओमान जस्ता टोलीलाई पराजित गरेको थियो। साउदी अरेबिया विरुद्धको खेल भने वर्षाका कारण रोकिन पुगेको थियो। नेपाल अहिले ५ अंक सहित समूहको दोस्रो स्थानमा छ।

नेपाल कतार विरुद्धको खेल हारे पनि जिते पनि सेमिफाइनल पुग्ने तय भैसकेको छ। तर समूह विजेता बन्नको लागि भने नेपालले कतार विरुद्धको खेल जित्नै पर्ने हुन्छ। बिहिबार नेपाल कतार विरुद्ध खेल जित्ने योजना सहित मैदानमा उत्रनेछ।

समूह ए बाट अहिले ओमान ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ। कतार विरुद्ध जितेको खण्डमा नेपाल ७ अंक सहित शिर्ष स्थानमा उक्लिनेछ। त्यति मात्र होइन कतार विरुद्धको खेल बराबरीमा टुंगिएको अवस्थामा पनि नेपाल शिर्ष स्थानमा उक्लिनेछ।

कतारसँग बराबरी खेल्दा नेपालको ६ अंक हुनेछ र नेटरनरेट को आधारमा नेपाल शिर्ष स्थानमा उकिनेछ। नेपालको नेटरनरेट १.७२५ छ। जबकी ओमानको नेटरनरेट भने ०.३७७ मात्रै छ। पराजय भोगेको खण्डमा भने नेपाल समूह उपविजेताको रुपमा सेमिफाइनल पुग्नेछ। कतार विरुद्धको खेलले नै सेमिफाइनलमा नेपालले कसको सामना गर्ने भन्ने निर्धारण गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *