June 14, 2024

काठमाडौँ – एसिसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले सामना गर्ने टोलीको टुंगो लागेको छ। समूह ‘बी”का सम्पूर्ण खेल सकिएसंगै सेमिफाइनलमा नेपालले सामना गर्ने टोलीको टुंगो लागेको हो।

बिहिबार समूह ‘बी” अन्तर्गतको अन्तिम खेलमा कुवेत र हङकङ आमने-सामने भए। मुलपानी क्रिकेट मैदानमा सेमिफाइनलमा स्थान बनाउन कुवेत र हङकङ आमने-सामने भएका हुन्। सो खेलमा कुवेत विजयी भयो। समूह बी बाट कुवेत समूह उपविजेता बन्यो।

पहिला ब्याटिङ गरेको कुवेतले २ सय ७३ रनको विशाल लक्ष्य दिएको थियो। सो लक्ष्य पछ्याउनेक्रममा हङकङ निर्धारित ५० ओभरमा २ सय ४२ रनमा अल आउट भयो। हङकङका कप्तान निजाकत खानले ९७ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ६० रन बनाएपनि हार टार्न सकेनन्।

कुवेतले समूह बी को निर्णायक खेलमा हङकङलाई ३० रनले हराएपछि सेमिफाइनलमा घरेलु टोली नेपालसँगको भेट पक्का गरेको छ। कुवेतले ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंक बनायो। समूह बी मा युएई ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंक सहित शिर्ष स्थानमा रह्यो। समान ६ अंक भएपनि रनरेटका आधारमा युएई शिर्ष स्थानमा रहन सफल भएको हो।

बिहिबार नै नेपालले समूहचरणको अन्तिम खेलमा कतारलाई पराजित गर्यो। सन्दीप लामिछानेले उच्च प्रदर्शन गरेसंगै नेपालले कतारको चुनौतीलाई पाखा लगाएको हो। नेपालले कतारलाई कतारलाई ६८ रनले पराजित गर्यो।

कतारलाई पराजित गरेसंगै नेपाल समूह ‘ए’को विजेता बन्न पुग्यो। अब सेमिफाइनलमा नेपाल र कुवेत बीच प्रतिष्पर्धा हुनेछ। दोस्रो सेमिफाइनल खेलमा समूह ए को उपविजेता ओमान र समूह बी को विजेता युएई आमने-सामने हुनेछन्।

यस प्रतियोगिता विजेता टोलीले आगमी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तानसँग खेल्नेछ। नेपाल सेमिफाइनलमा कुवेतलाई पराजित गरेर फाइनल प्रवेश गरी ओमान र युएई बीचको विजेतालाई पराजित गर्ने दाउमा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *