June 22, 2024

काठमाडौं । एसीसी प्रिमियर कपको सेमिफाइनलमा भोलि (शनिबार) नेपालले कुवेत र युनाइटेड अरब इमिरेट्स (यूएई) ले ओमानविरुद्ध खेलिरहेका छन्। टियु क्रिकेट मैदानमा शनिबार बिहान देखि नेपाल र कुवेतले अर्काको सामना गरिरहेका छन्।

तर एकाएक वर्षा हुँदा नेपाल र कुवेत बीचको खेल प्रभावित हुन पुगेको छ। टियु क्रिकेट मैदानमा फेरि वर्षा भएसँगै एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनलमा नेपाल र कुवेतबीचको खेल पुन ढिलो सुरु हुने भएको छ।

वर्षाको कारण एक घण्टा भन्दा बढी खेल रोकिएपछि खेल ४५-४५ ओभरको हुने भनिएपनि खेल पुनः सुरू हुन सकिरहेको छैन। टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २२.३ ओभरमा ३ विकेट गुमाउँदै १ सय ४१ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको थियो।

आज जित निकाल्न सकेको खण्डमा नेपालले फाइनल खेल्नेछ। प्रिमियर कपको विजेताले यसै वर्ष पाकिस्तानमा हुने तय भएको एसिया कपमा स्थान बनाउनेछ। प्रिमियर कपको विजेताले भारत र पाकिस्तानजस्ता आईसीसीका पूर्ण सदस्यसँग खेल्ने मौका पाउनेछ। शनिबार टियु क्रिकेट मैदानमा पटक-पटक खेल वर्षा भइरहेको छ। आजको खेल वर्षाले प्रभावित पार्न सक्ने अनुमान छ।

सेमिफाइनल र फाइनलमा वर्षा भए के हुन्छ ?

एसीसीका अनुसार सेमिफाइनलमा वर्षाका कारण खेल रद्द वा ‘टाई’ भए दुई ओभरको सुपर ओभर हुनेछ तर, सुपर ओभर पनि सम्भव नभए वा यसबाट स्पष्ट नजिता निस्किन नसके समूह चरणमा राम्रो नतिजा निकालेको टिमले फाइनलमा स्थान बनाउनेछ ।

यस्तै, फाइनल खेलको दिन पनि वर्षाका कारण खेल सम्भव नभए ‘रिजर्भ डे’ मा खेललाई निरन्तरता दिइने छ । तर, ‘रिजर्भ डे’ का दिन पनि खेल सम्भव नभए दुई ओभरको सुपर ओभर खेलाइने छ । र, सुपर ओभर पनि सम्भव नभएको खण्डमा माथिल्लो वरीयतामा रहेको टिम प्रतियोगिताको विजेता चुनिने छ र आगामी प्रतियोगिताका लागि छनोट हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *