June 14, 2024

कप्तान रोहित पौडेलले ९४ रनको निकै सानदार पारी खेलेपछि नेपालले पुन: निकै उच्च ब्याटिङ प्रदर्शन गरेको छ। जारी एसीसी प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा कतार विरुद्धको खेलमा निकै फितलो देखिएको नेपाली ब्याटिङ लाइनअपले सेमीफाइनलमा भने सुधारिएको खेल देखाएको छ।

कीर्तिपुर स्थित टियु मैदानमा भएको सेमीफाइनल खेलमा कुवेत विरुद्ध टस हार्दै नेपाललाई पहिला ब्याट गर्न भनिएको थियो। आयोजनाक राष्ट्रले निकै तेज सुरुवात गर्दै पहिलो १० ओभरमा नै बोर्डमा ७६ रन बनाएको थियो।

तर त्यसपछि भने नेपाल धरापमा परेको थियो। ७७ रनको स्कोरमा पहिलो विकेट गुमाएको नेपालले ८० रन बनाउँदा ३ विकेट गुमाउन पुगेको थियो। खेलको ११ औं ओभरको पाचौँ बलमा कुशल भुर्तेल ३९ बलमा ४३ रन बनाउँदै आउट भएका थिए भने त्यसको ४ बलपछि नै भिम सार्की १ रनमा नै आउट भएका हुन्।

त्यस लगत्तै नेपालका लागि अर्का ओपनर आसिफ शेख २८ बलमा ३१ रन बनाउँदै १२.२ ओभरमा आउट भएपछि नेपाल एकाएक संकटमा फसेको थियो। तर त्यसपछि मैदानमा आएका कप्तान पौडेल र युवा मल्लले चौंथो विकेटका लागि सानदार १०९ रनको साझेदारी गरेपछि नेपाल बलियो स्थितिमा पुगेको हो।

समूह चरण कै खेलमा ओमान विरुद्ध नेपाली क्रिकेट इतिहास कै सबैभन्दा तेज शतक प्रहार गरेका कुशल मल्लले कुवेत विरुद्ध पनि निकै धुवाँदार ब्याटिङ गरेका हुन्। उनले ४४ बलमा ४ चौका र ४ छक्क प्रहार गर्दै ५७ रनको पारी खेलेका हुन्।

अर्कोतर्फ, रोहित भने ६ रनले मात्र आफ्नो शतकबाट चुकेका हुन्। निकै कठिन अवस्थामा मैदान प्रवेश गरेका रोहितले ९५ बलमा ९४ रनको पारी खेल्दै नेपाललाई प्रतिस्पर्धात्मक स्कोरमा पुर्याएका हुन्। उनले आफ्नो पारीमा ७ चौका र ३ छक्का प्रहार गरेका हुन्।

कप्तान रोहित तथा कुशलको उत्कृष्ट ब्याटिङको मद्दतमा नेपालले निर्धारित ४२ ओभरको खेलमा ९ विकेट गुमाउँदै २८१ रनको विशाल योगफल तयार गरेको हो।

फाइनल प्रवेशका लागि २८१ रनको लक्ष्य पाएको कुवेतले जवाफी रन चेजमा निकै खराब सुरुवात गरेको छ। विशाल लक्ष्य पछ्याएको कुवेतले पछिल्लो अपडेट प्राप्त हुँदा सम्म ३ ओभरमा ११ रन बनाउँदा ३ विकेट गुमाईसकेको छ। नेपालका लागि करण केसीले दुई र सोम्पाल कामीले एक विकेट हात पारेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *