June 22, 2024

एजेन्सी – सेमीफाइनलमा कुवेत सँगको खेल रद्द भएपछि आयोजक राष्ट्र नेपाल एसीसी प्रिमिपर कपको फाइनलमा प्रवेश गरेको छ। काठमाडौँको कीर्तिपुर स्थित टियु अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको खेल वर्षाका कारण रद्द भएपछि समूह चरणको प्रदर्शनलाई मध्यनजर गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो।

समूह चरणमा नेपाल ४ खेलमा ३ जित निकाल्दै ७ अंकका साथ समूह ‘ए’ को विजेता बनेको थियो भने कुवेत समूह ‘बी’ को उप-विजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेको थियो।

एसीसीको नियम अनुसार सेमीफाइनलको खेल रद्द भएमा ‘रिजर्भ डे’ नभएको कारणले समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्ने टोलीले फाइनलमा स्थान बनाउनेछ। डकवर्थ लुइस (डिएलएस) नियम लागू हुनका लागि पनि दुबै टोलीले २० ओभरको खेल खेलेको हुनुपर्ने हुन्छ।

तर वर्षाका कारण खेल रोकिँदा कुवेतले मात्र ८.३ ओभरको खेल खेलेको थियो, जसमा उनीहरुले ६ विकेटको क्षतिमा मात्र ३७ रन बनाउँन सफल भएका थिए। जसपछि खेल सुरु हुन नसक्दा खेल रद्द भएको हो।

जसपछि भने खेल हुन नसक्दा नेपाल फाइनलमा प्रवेश गर्न सफल भएको हो। अब नेपालले फाइनलमा युएईसँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो सेमीफाइनलमा युएईले ओमानलाई डकवर्थ लुइस (डिएलएस) नियम मार्फत २ रनले पराजित गर्दै फाइनलमा आफ्नो स्थान पक्का गरेको हो।

शनिबार भएको खेलमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले वर्षाका कारण ४२ ओभरमा घटाईएको खेलमा पूरा ४२ ओभर खेल्दै ९ विकेटको क्षतिमा २८१ रन बनाएको थियो। घरेलु टोलीका लागि कप्तान पौडेलले सर्वाधिक ९४ रन बनाएका थिए भने कुशल मल्लले ५७ रन बनाएका थिए।

ओपनर कुशल भुर्तेलले ४३ रन बनाएको खेलमा अर्का ओपनर आसिफ शेखले ३१, आरिफ शेखले १९ र सोम्पाल कामीले १९ रनको योगदान गरेका थिए। बलिङ तर्फ कुवेतका लागि अद्नान इद्रिस र मोहम्मद अस्लानले सर्वाधिक ३-३ विकेट लिएका थिए भने साएद मोनिब र यासिन पटेलले समान १-१ विकेट लिएका हुन्।

डिएलएस मेथडका कारण १ रन कम भएपछि फाइनल प्रवेश गर्न ४२ ओभरमा २८१ रनको उच्च स्कोर पछ्याएको कुवेतले निकै खराब सुरुवात गरेको थियो। दोस्रो पारीको पहिलो ३ ओभरमा नै ३ विकेट गुमाएपछि कुवेत सुरुमा नै धरापमा परेको थियो।

पहिलो ओभरको पाचौँ बलमा नै करण केसीले कुवेतका अद्नान इद्रिसलाई खाता नकोल्दै पेभेलियन फर्काएका थिए। दोस्रो ओभरको तेस्रो बलमा सोम्पाल कामीले पर्बिंदर कुमारलाई १ रनमा नै आउट गरेपछि कुवेत ठूलो संकटमा परेको थियो।

तर विकेट जाने क्रम त्यहिँ रोकिएन। तेस्रो ओभरमा पुन: करण केसीको जादू चलेपछि कुवेतका मित भास्कर ५ रनमा मैदानबाट फर्किएका हुन्। त्यसपछि लगातार विकेट जाने क्रम जारी नै रह्यो। रभिजा सन्दरुवन, मोहम्मद अस्लान र सिराज खान तीनैले खेल सम्हाल्न नसक्दा करण केसीले आफ्नो पाचौँ ओभरमा नै ५ विकेट हात पारेका थिए।

एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेसँगै नेपाल पहिलो पटक एसिया कप खेल्न नजिक पुगेको छ। यस प्रतियोगिताको विजेता टोलीले आगामी सेप्टेम्बर २ देखि १७ सम्म पाकिस्तानमा हुने एसिया कपमा आफ्नो स्थान सुरक्षित गर्नेछ।

नेपालले हालसम्म एसिया कप खेल्न सकेको छैन, जसको कारण पनि घरेलु मैदानमा हुने फाइनल खेल जित्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई अर्को इतिहास रच्ने सुनौलो अवसर रहेको छ। यसअघि गत मार्चमा मात्र नेपालले २०२३ एकदिवशीय विश्वकपका लागि हुने छनोट चरणमा सिधैं स्थान बनाएर पहिले नै एक इतिहास रचिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *