June 14, 2024

नेपालमा जारी एसीसी मेन्स प्रिमियर कपको उपाधिका लागि आयोजक राष्ट्र नेपाल र युनाइटेड अरब एमीरेट्स (युएई) बीच प्रतिस्पर्धा हुने भएको छ। उपाधि जित्ने राष्ट्रले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा आफ्नो स्थान बनाउनेछ।

नेपाल र युएई बीचको फाइनल खेल कीर्तिपुर स्थित टियु अन्तराष्ट्रिय मैदानमा सोमबार हुनेछ। शनिबार भएका दुई सेमिफाइनल खेलमा नेपाल र कुवेत बीचको खेल वर्षाका कारण रद्द भएपछि समूह चरणको प्रदर्शनको आधारमा नेपाल फाइनलमा प्रवेश गरेको हो भने अर्को सेमिफाइनलमा युएईले ओमानलाई पराजित गर्दै नेपालसँगको भेट पक्का गरेको हो।

टियु मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले वर्षाका कारण ४२-४२ ओभरमा घटाईएको खेलमा ९ विकेट गुमाउँदै २८१ रन बनाएको थियो। नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९४ रनको पारी खेल्दा कुशल मल्लले पनि ५७ रनको योगदान दिएका थिए।

बलिङ तर्फ कुवेतका लागि अद्नान इद्रिस र मोहम्मद अस्लानले सर्वाधिक ३-३ विकेट लिएका थिए भने साएद मोनिब र यासिन पटेलले समान १-१ विकेट लिएका थिए। डिएलएस मेथडबाट १ रन घटेपछि कुवेतले जितका लागि २८१ रनको लक्ष्य पाएको थियो।

विशाल लक्ष्य पछ्याएको कुवेतले लगातार विकट गुमाउँदै निकै खराब सुरुवात गरेको थियो। वर्षाका कारण दोस्रो पटक खेल रोकिनु अघि कुवेतले ८.३ ओभरमा मात्र ३७ रन बनाउँदा ६ विकेट गुमाएको थियो। नेपालका लागि करण केसी एक्लैले ५ विकेट लिएका थिए भने सोम्पाल कामीले एक विकेट हात पारेका हुन्।

आईसीसीका अनुसार डकवर्थ लुइस (डिएलएस) मेथड लागू हुनका लागि दुबै टोलीले कम्तीमा २० ओभर खेलेको हुनुपर्छ, जसको कारण खेल नतिजाविहिन नै समाप्त हुँदा नेपाल समूह चरणमा विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको हुँदा फाइनलमा पुग्न सफल भएको हो।

दोस्रो सेमिफाइनलमा भने युएईले ओमानलाई डिएलएस मार्फत २ रनले पराजित गरेको छ। मुलपानी क्रिकेट मैदानमा भएको अर्को सेमिफाइनलमा पहिलो ब्याटिङ गर्दै युएईले ४९.२ ओभरमा अल-आउट हुँदै २३६ रन बनाएको थियो।

२३७ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको ओमानले वर्षाले खेल रोक्नुअघि ४३ ओभरमा ६ विकेटको क्षतिमा १९० रन बनाएको थियो। त्यसपछि खेल सुरु हुन नसक्दा युएई डिएलएस मेथडबाट २ रनले विजयी भएको हो। शनिबार पराजित दुई टोलीले तेस्रो स्थानका लागि आइतबार एक-अर्कासँग प्रतिस्पर्धा गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *