June 22, 2024

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)का ब्राजिलियन स्टार नेयमार यति बेला आराम गरिरहेका छन्। खुट्टाको शल्यक्रिया पछि उनी प्रशिक्षणमा फर्किने तरखरमा छन्। नेयमार फेब्रुअरी महिनामा घाइते हुन पुगेका थिए।

नेयमारका लागि यो सिजन सकिसकेको छ। नेयमार पिएसजीका लागि कुनै पनि खेलमा सहभागी हुने छैनन्। नेयमारलाई पिएसजीले आउने समर ट्रान्सफरमा बिक्री गर्ने योजना बनाएको छ। विभिन्न खेल मिडियाहरुका अनुसार पिएसजीले नेयमारलाई बिक्री गर्ने तयारी गरिसकेको छ। सन् २०१७ मा बार्सिलोनाबाट पिएसजी आइपुगेका नेयमार पिएसजीको टोलीका लागि महत्वपूर्ण रहेपनि पिएसजीले उनलाई बिक्री गर्न खोजिरहेको छ।

नेयमारले पिएसजीलाई बिक्री गर्न लागेको सुइँको पाएसंगै प्रिमियर लिगका तीन क्लब हाइअलर्टमा बसेका छन्। नेयमारका लागि म्यानचेस्टर सिटी, चेल्सी र म्यानचेस्टर युनाइटेड बीच कडा प्रतिष्पर्धा हुन लागेको विभिन्न खेल मिडियाहरुले जनाएका छन्।

स्पेनिस पत्रिका फिचाजेसका अनुसार सिटी, चेल्सि र युनाइटेड तीनै क्लब नेयमारका लागि कदम चाल्न तयार छन्। चेल्सी गत समर ट्रान्सफर विन्डो देखि नै नेयमारमा नजर राखिरहेको छ। गत समर ट्रान्सफर विन्डोमै नेयमारलाई भित्र्याउन खोजेको भएपनि चेल्सी असफल भएको थियो। त्यसबेला चेल्सीले आधिकारिक प्रस्ताव नै पठाउन सकेको थिएन।

यस पटक भने नेयमारका लागि आधिकारिक प्रस्ताव पठाउने चेल्सीको तयारी रहेको छ। त्यस्तै सिटी र युनाइटेड पनि नेयमारलाई नजिकबाट नियालिरहेका छन्। नेयमार भित्र्याउन युनाइटेड पनि अगाडी देखिएको र तीन क्लब बीच प्रतिष्पर्धा हुने अवस्था बनेको फिचाजेसले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *