June 17, 2024

काठमाडौँ – जारी एसिसी प्रिमियर कपको फाइनल खेलमा नेपालको उत्कृष्ट बलिङको अगाडी युएईको ब्याटिङ धर्मराएको छ। नेपालले निरन्तर उच्च स्तरको बलिङ गरेपछि युएईको ब्याटिङ लाइनअप टिक्न नसकने अवस्थामा पुगेको हो।

दोस्रो पटक पनि वर्षाका कारण खेल अवरुद्ध हुनुअघि युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन मात्र बनाउँन सफल भएको छ। खेल सुरु भएदेखि नै विपक्षी ब्याटिङ माथि हावी देखिएको नेपालले युएईको पहिलो विकेट चौंथो ओभरमा लिएको थियो। चौंथो ओभरको पहिलो बलमा नै सोम्पाल कामीले युएईका कप्तान मोहम्मद वासिमलाई ११ रनमा आउट गर्दै नेपालको खाता खोलेका थिए।

१७ रनको स्कोरमा पहिलो विकेट गुमाएको युएईले बोर्डमा ५१ रन हुँदा आफ्नो ५ विकेट गुमाएको थियो। जसपछि भने युएईले आसिफ खान र बसिल हमिदको मद्दतमा केही स्थिर हुने प्रयास गरेको थियो। यी दुई खेलाडीले आफ्नो टोलीको छैठौं विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए।

९० रनको स्कोरमा बसिल हमिद र १०३ रन बोर्डमा हुँदा आयन अफजल खान आउट भएपछि युएईको ब्याटिङ अर्डर धर्मराएको थियो। तर क्रिजमा आसिफ खान भने निकै उत्कृष्ट ब्याटिङ गरिरहेका थिए। अन्तिम पटक यी दुई टोली एक-अर्कासँग प्रतिस्पर्धा गर्दा आसिफ खानले निकै सानदार शतक प्रहार गरेकाले पनि नेपाली टोली बीच उनको डर कायम नै रहेको थियो।

त्यसमाथि उनी निकै राम्रो लयमा रहेको हुँदा उनको डर नेपाली समर्थक माझ पनि रहेको थियो। यसैबीच, नेपाली कप्तान रोहित पौडेलले २८ औं ओभर लेफ्ट-आर्म स्पिनर ललित राजबंशीलाई दिने निर्णय गरे। लगातार उत्कृष्ट बलिङ गरिरहेका सन्दीप लामिछानेलाई रिप्लेस गर्दै ललितलाई बलिङ दिने पौडेलको निर्णय अन्त्यमा निकै सफल साबित भयो।

ललितले आफ्नो ओभरको दोस्रो बलमा नै निकै राम्रो लयमा रहेका आसिफ खानलाई पेलेभेयन फर्काएका थिए भने त्यसको अर्को बलमा नै उनले जहुर खानलाई पहिलो बलमा नै गोल्डेन डक मै फर्काएपछि युएई ९ विकेट गुमाउन पुगेको हो। त्यसको लगत्तै पानी परेपछि खेल अवरुद्ध भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *