June 17, 2024

काठमाडौँ – एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गत टियू मैदानमा सोमबार पूरा हुन नसकेको स्थगित भएकै अवस्थाबाट आज सुचारु हुँदैछ। नेपाल र युएईबीचक सोमबार पूरा हुन नसकेको बाँकी फाइनल खेल आज सुचारु हुन लागेको हो।

सोमबार वर्षाले प्रभावित खेल आज बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुँदैछ। युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा दोस्रो पटक वर्षाले खेल रोकेपछि दिनभर खेल हुन सकेन। निरन्तर वर्षा भएसंगै खेल आजको लागि तय गरिएको थियो।

खेल सुचारु हुँदा अन्तिम ब्याटर जुनैद सिद्दिक मैदानमा आउनेछन्। उनले स्पिनर ललित नारायण राजवंशीको ह्याट्रिक बल सामना गर्नेछन्। कार्तिक मयाप्पन ६ बलमा १ रन सहित क्रिजमा रहनेछन्। युएईका लागि आसिफ खानबाहेक कुनैपनि ब्याटर क्रिजमा जम्न नसक्दा कम रन जोडेको अवस्था छ।

नेपालका स्पिनर ललितनारायण राजवंशीले ४.३ ओभरमा १ मेडनसहित ५ रन खर्चेर ३ विकेट लिएका छन् भने सन्दीप लामिछानेले ७ ओभरमा १ मेडनसहित ३२ रन खर्चेर २ विकेट लिन सफल भएका छन्। करण केसीले ७ ओभर बल फाल्दा १ मेडन राख्दै २६ रन खर्चेर २ विकेट लिएका छन् । सोमपाल कामी र गुलशन झाले समान एक विकेट लिए।

आज पनि पानी परे के हुन्छ ?

मौसमाविद्हरुका अनुसार काठमाडौँमा आज पनि पानी पर्न सक्ने सम्भावना रहेको छ। आजपनि वर्षाका कारण थप खेल हुन नसके सुपर ‌ओभरको प्रयास गरिने छ। यदि सुपर ओभरपनि हुन नसके वरियताका आधारमा नेपाल एसियाकपमा छनोट हुनेछ। वरियतामा नेपाल युएईभन्दा माथि रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *