June 16, 2024

सोमबार र मंगलबार दुई दिन गरेर सम्पन्न भएको फाइनल खेलमा युनाइटेड अरब एमिरेट्स (युएई) लाई ७ विकेटले पराजित गर्दै नेपालले एसीसी प्रिमियर कपको उपाधि जित्न सफल भएको छ।

युएईले दिएको ११८ रनको लक्ष्य नेपालले ३१ औं ओभरको तेस्रो बलमा ३ विकेटको क्षतिमा पूरा गर्दै च्याम्पियन बनेको हो। नेपालको जितमा ब्याटिङको कुरा गर्ने हो भने युवा स्टार गुलशन झाले निकै उत्कृष्ट प्रदर्शन गरेका थिए।

१७ वर्षीय झाले नेपालको जितमा प्रमुख भूमिका खेल्ने क्रममा ८४ बलमा ३ चौका र ६ छक्का सहित सर्वाधिक ६७ रनको पारी खेलेका थिए। लगातार नेपाली ब्याटिङ अडरको लोवर-मिडल अडरमा ब्याट गर्दै आएका झालाई युएई विरुद्ध भने प्रशिक्षक मोन्टि देसाईले तेस्रो नम्बरमा ब्याटिङ गर्न मैदानमा पठाएका थिए।

११८ रनको झिनो लक्ष्य पछ्याएको नेपाल सुरुवातमा भने निकै दबाबमा आएको थियो। १ रनमा नै पहिलो विकेट गुमाएको स्थितिमा क्रिजमा आएका झाले नेपालको इनिङ सम्हाल्ने प्रयास गरेका थिए। तर त्यसपछि पनि अर्को तिर भने छिट्टै २ विकेट गएपछि नेपाल एक समय २२ रनमा ३ विकेट गुमाउन पुगेको थियो।

तर त्यसपछि मैदानमा आएको भिम सार्कीसँग ९४ रनको साझेदारी गर्दै गुलशनले नेपाललाई जित दिलाएका हुन्। सार्की भने ७२ बलमा ३६ रनमा अविजित रहे। यसका साथै नेपाल एसिया कप २०२३ मा छनोट हुन सफल भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *