June 14, 2024

एजेन्सी – प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई झड्का लागेको छ। खेलको अन्तिम मिनेटमा ब्राइटन होव अल्वियोनसँग हार बेहोरेसंगै युनाइटेडलाई नराम्रो झड्का लागेको हो। बिहिबार राति भएको खेलमा युनाइटेड ब्राइटन होव अल्वियोनसँग १-० को गोल अन्तरले पराजित हुन पुगेको हो।

ब्राइटन होव अल्वियोनको घरेलु मैदानमा भएको खेलमा युनाइटेडले इन्ज्युरी समयको थप गरिएको अन्तिम समयमा पेनाल्टी गोल बेहोरेको थियो। युनाइटेडले पाउन लागिसकेको एक अंक तब गुमायो, जब घरेलु टोलीले पेनाल्टीको अवसरमा कुनै गल्ती गरेन।

निर्धारित ९० मिनेट सकिएपछि थप गरिएको नवौ मिनेटमा अर्जेन्टिनी मिडफिल्डर एलेक्सिस म्या एलिस्टरले पेनाल्टीमा गोल गरेका थिए। दि अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियम फाल्मेरमा युनाइटेडले बलमा नियन्त्रण राख्न सकेन।

खेलभर युनाइटेडको बलमा मात्र ४० प्रतिशत नियन्त्रण थियो। खेलभर युनाइटेडको तर्फबाट कुल १६ प्रहार भएका थिए। जसमध्ये ५ प्रहार टार्गेटमा थिए। तर त्यसमध्ये कुनै पनि प्रहार गोलमा परिणत भने भएनन्।

घरेलु टोली ब्राइटनले भने खेलभर बलमा राम्रो नियन्त्रण राखेर कुल २२ प्रहार गरेको थियो। जसमध्ये ९ प्रहार टार्गेटमा थिए। त्यसमध्ये १ प्रहार गोलमा परिणत भएको थियो। सो गोल पेनाल्टीमा आएको थियो। पेनाल्टी बक्समा लुका साले ह्यान्ड गर्न पुगेपछि रेफ्रीले भिएआरको सहायतता लिदै ब्राइटनलाई पेनाल्टी दिइएको थियो। यस हारका बाबजुत युनाइटेड चौथो स्थानमा यथावत छ। युनाइटेडले ३३ खेलबाट ६३ अंक जोडेको छ। ब्राइटन ३२ खेलबाट ५५ अंक जोडेर छैटौं स्थानमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *