June 22, 2024

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका भेट्रान मिडफिल्डर लुका मोड्रिचले साउदी अरेबियाबाट आएको प्रस्तावलाई सिधै रिजेक्ट गरेका छन्। विभिन्न खेल मिडियाहरुका अनुसार मोड्रिचले साउदी क्लब अल नासरको प्रस्तावलाई रिजेक्ट गरेका हुन्।

रियलका पूर्व खेलाडी क्रिस्टियानो रोनाल्डो समेत आवद्ध रहेको क्लब अल नासरले आउने समर ट्रान्सफर विन्डोमा मोड्रिचलाई भित्र्याउने योजना बनाएको थियो। तर अल नासरको सो योजनामा ठूलो धक्का लागेको छ। मोड्रिचले अल नासरको प्रस्ताव अस्विकार गरेर रियलमै बस्ने निर्णय गरेका छन्।

अल नासरले उच्च पारिश्रमिक सहितको प्रस्ताव गरेपनि मोड्रिचले रियलमै बस्ने निर्णय गरेको खबर बाहिर आएको छ। यस खबरलाई फाब्रिजियो रोमानोले पनि पुष्टि गरेका छन्। उनले हालसालै मोड्रिच रियलमै बस्ने निर्णयमा पुगेको पुष्टि गरेका हुन्।

रोमानोका अनुसार सम्झौता थप गर्न रियल र खेलाडी बीच सैद्धान्तिक सहमति भएको छ। सहमति अनुसार नयाँ सम्झौता सन् २०२४ सम्मका लागि हुनेछ। मोड्रिचको पहिलो प्राथमिकता नै रियल रहेको र त्यसबाट उनी यता उता नभएको रोमानोले जनाएका छन्।

मोड्रिच लामो समय देखि रियलमा छन्। प्रिमियर लिगबाट लालिगा आएदेखि उनले रियलका लागि निरन्तर खेलिरहेका छन्। एक दशक भन्दा लामो रियल बसाईका क्रममा उनले सबै उपाधि जितिसकेका छन्। रियलमा रहेर उनले कुनै पनि उपाधि जित्न बाँकी छैन।

मोड्रिच सन् २०१२ मा रियल म्याड्रिड आवद्ध भएका थिए। त्यसभन्दा अगाडी उनी प्रिमियर लिग क्लब टोटेनह्यामका लागि खेल्थे। स्पेन आएयता उनले रियलका लागि कुल ४ सय ८१ खेल खेलेका छन्। जसमा उनले ३७ गोल गरेका छन् भने ७७ असिस्ट प्रदान गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *