June 14, 2024

एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सीलाई दुई साताका लागि निलम्बन गर्ने पेरिस सेन्ट जर्मेन (पीएसजी)को निर्णयको आलोचना भएको छ। आर्सनल तथा म्यानचेस्टर सिटीका पूर्व स्टार समीर नसरीले मेस्सीलाई निलम्बन गर्ने पिएसजीको निर्णयको खुलेर आलोचना गरेका हुन्।

एक कुराकानीका क्रममा नसरीले मेस्सीलाई दुई साताका लागि निलम्बन गरेर पिएसजीले मूर्ख कार्य गरेको बताए। क्यानल प्लससँग कुरा गर्नेक्रममा नसरीले पहिला दुई साताका लागि निलम्बन गरेर पिएसजीले के सन्देश दिन खोजेको हो भन्दै प्रश्न गरे।

केहि समय अगाडी मेस्सी क्लबको अनुमति बिना साउदी अरेबिया पुगेका थिए। त्यसक्रममा तस्विरहरु मेस्सीले सामाजिक संजाल मार्फत सार्वजनिक गरेपनि पिएसजी चिढिएको थियो। त्यसपछि पिएसजीले मेस्सी माथि अनुशासनको कारवाही गरेको थियो। पिएसजीले मेस्सीलाई दुई साताका लागि निलम्बन गरेको थियो।

पछि मेस्सीले सार्वजनिक रुपमा माफी मागे। सामाजिक संजाल मार्फत एक भिडियो सार्वजनिक गर्दै मेस्सीले क्लब र क्लबका सहकर्मीहरुसँग आफ्नो कार्यका लागि माफी मागेका थिए। कारवाहीको पाँच दिन पछि पिएसजीले मेस्सी माथिको निलम्बन फुकुवा गरेको थियो।

पिएसजीको सो कदमलाई लिएर पूर्व प्रिमियर लिग स्टार नसरीले पिएसजीको आलोचना गरे। पिएसजीको सो कदमसँगै अब मेस्सी पिएसजीमा नबस्ने पक्का भएको सङ्केत नसरीले गरे। उनले बताएकी अब कि त मेस्सी बार्सिलोना फर्किने छन्, नभए साउदी जानेछन्।

“मेस्सी विरुद्ध पेरिसको प्रतिबन्ध एक मूर्ख विचार थियो। पहिला दुई साताका लागि निलम्बन गरेर पाँच दिन पछि नै निलम्बन फुकुवा गरेर पिएसजीले के सन्देश दिन खोजेको हो? अब उनले कि त बार्सिलोना गएर आफ्नो सुन्दर कथाको अन्त्य गर्छन्, वा टन्न पैसा लिएर साउदी जान्छन्। जे भए पनि साउदीमा एक वर्षकै ४ सय मिलियन युरोको कुरा छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *