June 16, 2024

एजेन्सी – बार्सिलोनाले यस समरमा सर्जियो बुस्केट्सको कप्तानीका लागि दुई खेलाडीको पहिचान गरेको बताइएको छ। १८ वर्ष क्याटालान दिग्गजहरूको सेवा गरेपछि बुस्केट्सले सिजनको अन्त्यमा आफ्नो बाल्यकालको क्लब छोड्ने तयारी गरेका छन्।

बार्सिलोनामा बुस्केट्सको सम्झौता यो सिजनको अन्त्यसँगै सकिँदैछ। उनले बार्सिलोना छाड्ने घोषणा गरिसकेका छन्। उनले बार्सिलोनामा रहेर क्लब फुटबलमा जित्न सम्भव सबै उपाधि जितेका छन्। बार्सिलोनामा रहँदा उनले धेरै उच्च सफलता देखे। उमेर बढ्दै जाँदा उनले क्लब छाड्ने निर्णय गरेका हुन्।

बुस्केट्स बार्सिलोनाको मुख्य कप्तान समेत रहेका छन्। बार्सिलोनाको कप्तानी समूहमा बुस्केट्सका अलावा सर्जी रोबर्टो, जोर्डी अल्बा र मार्क-आन्द्रे टेर स्टेगेन समेत रहेका छन्। त्यसमध्ये बुस्केट्स पहिलो स्थानमा रहेका कप्तान हुन्। उनको बहिर्गमन पछि अब सर्जी रोबर्टो मुख्य कप्तान हुनेछन्। यस सिजनको सुरुमा जेरार्ड पिकेले सन्यास लिएपछि चौथो कप्तान बनेका टेर स्टेगन तेस्रो कप्तान बन्न सक्छन्।

बुस्केट्सको बहिर्गमनपछि अब कप्तानी समूहमा बार्सिलोनाले नयाँ खेलाडीलाई समावेश गर्ने योजना बनाएको छ। विभिन्न स्पेनिस मिडियाहरुका अनुसार बार्सिलोनाको कप्तानी समूहमा रोबर्ट लेवान्डोस्की वा रोनाल्ड अराउजो मध्ये एक समावेश हुन सक्छन्।

एएसका जावी मिगुएलले रिपोर्ट गरे अनुसार ब्लाउग्रानाले रोबर्ट लेवान्डोस्की र रोनाल्ड अराउजोलाई नयाँ नेतृत्व समूहको हिस्सा बन्न विचार गरिरहेको छ। लेवान्डोस्की वा अराउजोलाई अर्को सिजन अगाडी चौथो कप्तान नियुक्त गर्ने योजनामा बार्सिलोना रहेको बताइन्छ। लेवान्डोस्की गत समरमा बायर्न म्युनिखबाट मात्रै बार्सिलोना आएका थिए । यद्यपि, उच्च स्तरमा उनको अपार अनुभव र अतुलनीय क्षमताका कारण उनी कप्तानका उम्मेदवार बनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *