June 22, 2024

एजेन्सी – ब्राजिलियन स्टार नेयमारको भविष्य पुनः एक पटक चर्चामा छ। पेरिस सेन्ट जर्मेन(पिएसजी)ले नेयमारलाई बिक्री गर्न चाहेको खबर बाहिरिएसंगै उनको भविष्य चर्चामा आएको हो। विभिन्न खेल मिडियाहरुका अनुसार पिएसजीले नेयमारलाई आउने ट्रान्सफर विन्डोमा बिक्री गर्न चाहिरहेको छ।

नेयमार पनि पिएसजीमा त्यति सन्तुष्ट हुन सकिरहेका छैनन्। उनको नाम विभिन्न प्रिमियर लिग क्लबहरुसँग जोडिएको छ। चेल्सी, म्यानचेस्टर युनाइटेड, न्यूक्यासल युनाइटेडले नेयमारलाई भित्र्याउन चाहेको बताइन्छ। यसै बीच स्पेनबाट प्रकाशित हुने एक पत्रिकाले नेयमारलाई क्याटलान क्लब बार्सिलोनाका प्रशिक्षकले रिजेक्ट गरेको दावी गरेको छ।

स्पेनबाट प्रकाशित हुने एल नेसियोनलले बार्सा प्रशिक्षक जाभीले नेयमारलाई रिजेक्ट गरेको दावी गरेको छ। नेयमारको मैदान बाहिरको जीवन शैलीका कारण जाभीले नेयमारलाई रिजेक्ट गरेको एल नेसियोनलले जनाएको छ।

खुट्टाको शल्यक्रियापछि सिजन बाहिर हुनुअघि ब्राजिलियन आक्रमणकारीले २९ खेलमा १८ गोल गरेका थिए र १७ असिस्ट दिएका थिए। विश्वकप अगाडी नेयमार धेरै राम्रो लयमा थिए। तर विश्वकपका क्रममा खुट्टामा चोट लागेपछि भने उनी त्यति राम्रो लयमा थिएनन्।

शल्यक्रिया पश्चात नेयमारका लागि यो सिजन सकिसकेको छ। यस सिजन उनले कुनै पनि खेल खेल्ने छैनन्। नेयमारले यसअघि बार्सिलोनामा उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले क्याटालान क्लबका लागि १८६ खेलमा १०५ गोल र ७६ असिस्ट प्रदान गरेका थिए। नेयमारले ब्लुग्रानासँग एक यूईएफए च्याम्पियन्स लिग र दुई ला लिगा उपाधि सहित आठ ट्रफी जितेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *