June 17, 2024

एजेन्सी – बार्सिलोनाका प्रबन्धक जाभीले स्पेनिस विङ्गर अन्सु फातीको क्याटलोनियन जाइन्ट्समा भविष्य नभएको कथित रूपमा निर्णय गरेका छन्। विभिन्न खेल मिडियाहरुका अनुसार जाभीले बार्सिलोनामा फातीको भविष्य नरहेको निर्णय गरेका हुन्।

बार्सिलोना लालिगा उपाधि नजिक रहँदा प्रशिक्षक जाभीले क्लबका धेरै खेलाडीहरु बारे निर्णय गर्न थालेको बताइएको छ। प्रबन्धकले धेरै प्रमुख खेलाडीहरूलाई आफ्नो भविष्यको योजनाबारे जानकारी गराउने तयारी गरेको स्पेनिस पत्रिका एएसका पत्रकार जेभियर मिग्वेलले जनाएका छन्।

मिग्वेलका अनुसार जाभीले बार्सिलोनालाई फाती आफ्नो योजनामा नहुने भन्दै बिक्री गर्न ग्रिन सिग्नल दिएका छन्। जाभीको सो निर्णयसंगै अब बार्सिलोनाले फातीको बिक्री प्रक्रिया सुरु गर्ने बताइन्छ। मेस्सीले क्लब छाडे पछि क्लबको १० नम्बर जर्सी दिइएका फातीले अपेक्षा गरिएजस्तो प्रदर्शन गर्न सकेका छैनन्।

पछिल्लो समय उनी धेरै पटक घाइते भएका छन् र ठीक भएको अवस्थामा पनि बार्सिलोनाको सुरुवाती ११ मा पर्न सकेका छैनन्। जाभीले फातीलाई विकल्पिक खेलाडीको रुपमा प्रयोग गरिरहेका छन्। खेल्ने मौका नपाइरहेका कारण फाती पनि नयाँ गन्तव्यको खोजिमा छन्।

आउने समर ट्रान्सफर विन्डोमा बार्सिलोनाले फातीलाई बिक्रीमा राख्न सक्छन्। फाती माथि केहि प्रिमियर लिग क्लब तथा इटालियन क्लबहरुको नजर छ। उनको ट्रान्सफर कता हुन्छ भन्ने कुरा समर ट्रान्सफर विन्डोमा नै स्पष्ट हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *