June 17, 2024

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली युवा स्टार एर्लिङ हालाण्ड निरन्तर चर्चामा छन्। सिटी आएको सुरुवाती समय देखि नै उनले निरन्तर गोल गरिरहेका छन्। हालाण्डले यस सिजन सबै प्रतियोगितामा सिटीका लागि कुल ४७ खेल खेलेका छन्।

जसमा उनले ५१ गोल गरिसकेका छन् भने ८ असिस्ट दिएका छन्। प्रिमियर लिगमा मात्रै उनले ३५ गोल गरेका छन्। मात्र ३२ खेलमा उनले ३५ गोल गरेका हुन्। उनको नाममा ७ प्रिमियर लिग असिस्ट पनि छ।

उच्च प्रदर्शन गरेका उनका लागि यस सिजन व्यक्तिगत अवार्डको ओइरो लाग्ने लगभग निश्चित जस्तै देखिन्छ। सिजन सकिनु भन्दा अगाडी नै उनले महत्वपूर्ण अवार्ड हात पारिसकेका छन्। हालाण्ड शुक्रबार मात्रै वर्षको उत्कृष्ट पुरुष खेलाडी घोषित भएका हुन्।

हालाण्डलाई फुटबल लेखक संघ (FWA) ले वर्षको उत्कृष्ट पुरुष खलाडी घोषित गरेको छ। बेलायती पत्रकारहरुको समूहले हरेक वर्ष प्रदान गर्ने सो अवार्ड हालाण्डले हात पारे। सो अवार्डका लागि हालाण्डले आर्सनलका बुकायो साका, आर्सनलकै मार्टिन ओडेगार्ड र सिटीका केभिन डे ब्रुएनालाई पछि पार्न सफल भए।

एफडब्ल्युए अवार्डका लागि बेलायतका पत्रकारहरुले मतदान गर्छन्। सहभागी मध्ये ८२ प्रतिशत मत हालाण्डको पक्षमा गयो। जससंगै हालाण्ड वर्षको उत्कृष्ट खेलाडी घोषित भए। सो अवार्डको दोस्रो स्थानमा साका रहँदा ओडेगार्ड तेस्रो स्थानमा रहे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *