June 17, 2024

एजेन्सी – न्यूक्यासल प्रिमियर लिगको जारी सिजनमा उत्कृष्ट फुटबल खेलिरहेको छ। प्रशिक्षक एडी होवेको उत्कृष्ट नेतृत्वले उनीहरुलाई प्रिमियर लिगको तेस्रो स्थानमा स्थापित गरेको छ। प्रिमियर लिग निष्कर्ष तर्फ अगाडी बढ्दा न्यूक्यासल च्याम्पियन्स लिग नजिक पुगेको छ। सिजनका ३४ खेल खेल्दा न्यूक्यासलले १८ खलमा जित निकालेको छ भने ५ खेलमा मात्रै हार बेहोरेको छ।

११ खेलमा बराबरी सहित उनीहरु ६५ अंक बटुलेर तेस्रो स्थानमा छन्। सिजनका मात्र ४ खेल खेल्न बाँकी रहेको अवस्थामा न्यूक्यासल लगभग च्याम्पियन्स लिगका लागि छनोट भैसकेको अवस्थामा छ। चार मध्ये केहि खेल मात्र जितेको खण्डमा पनि उनीहरु च्याम्पियन्स लिगका लागि छनोट हुनेछन्।

आउने सिजन च्याम्पियन्स लिग खेल्ने अवसर मिल्ने भएसंगै न्यूक्यासल यति बेला क्लबमा खेलाडी थप्ने योजनामा जुटेको छ। न्यूक्यासलले आउने सिजन ब्राजिलियन स्टार नेयमार सहितका खेलाडीहरुलाई भित्र्याउन लागेको चर्चा गरिन्छ। तर लिभरपुलका एक खेलाडीले भने नेयमार नभित्र्याउन न्यूक्यासललाई चेतावनी दिएका छन्।

लिभरपुलका पूर्व डिफेन्डर जोसे एनरिकले नेयमार नभित्र्याउन सुझाव दिएका हुन्। सामाजिक संजाल मार्फत उनले नेयमार आफूलाई मन पर्ने भएपनि न्यूक्यासलका लागि ठीक नभएको बताएका छन्। एडी होवेको नेतृत्वमा उत्कृष्ट फुटबल खेलिरहेको न्यूक्यासलका लागि नेयमार ठीक नभएको उनको भनाई छ।

“मलाई नेयमार मन पर्छ, तर न्यूक्यासलले उनलाई भित्र्याउनु हुँदैन भन्ने मलाई लाग्छ। उनीहरू एडीको नेतृत्वमा उत्कृष्ट फुटबल खेलिरहेका छन्। नेयमारलाई अनुबन्ध गर्नु ठूलो गल्ती हुनेछ।”,एनरिकले सामाजिक संजालमा लेखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *