June 14, 2024

एजेन्सी – लिभरपुलले गर्मीमा इन्टर मिलानका मिडफिल्डर निकोलो बरेल्लालाई अनुबन्ध गर्न निकै चासो राखेको बताइएको छ। विभिन्न खेल मिडियाहरुका अनुसार लिभरपुलले बरेल्लालाई आउने समर ट्रान्सफर विन्डोमा नम्बर वान टार्गेट बनाउने योजना बनाएको हो।

२६ वर्षीय बरेल्ला विगतका वर्षदेखि इन्टरका लागि महत्वपूर्ण खेलाडीका रूपमा रहेका छन्। अर्को वर्ष यो कदम स्थायी हुनु अघि उनी सन् २०१९ मा कालियरीबाट लोनमा इन्टर आइपुगेका थिए। इटालियन मिडफिल्डरले नेराजुरीका लागि १८१ खेल खेलेका छन्। यस बीचमा उनले १९ गोल गरेका छन् र ४३ असिस्ट प्रदान गरेका छन्।

सन् २०२२-२३ को सिजनमा कम्जोर प्रदर्शन गरेपछि लिभरपुल यति बेला भरपर्दो मिडफिल्डरको खोजिमा छ। लिभरपुलले आउने समर ट्रान्सफर विन्डोमा एक भन्दा बढी मिडफिल्डर भित्र्याउने योजना बनाएको छ। जेम्स मिलनर नि: शुल्क स्थानान्तरणमा क्लब छाड्ने तयार भइसकेको छ र नाबी केइटा र एलेक्स ओक्सलेड-चेम्बरलेनले उनको कदम पछ्याउन सक्छन्।

मर्सीसाइडरहरू बोरुसिया डर्टमन्डको जुड बेलिङ्घमसँग जोडिएका थिए। तर उनका लागि १ सय २० मिलियन युरो भन्दा बढी रकम खर्च गर्न पर्ने भएसंगै लिभरपुल पछि हटिसकेको छ। अब लिभरपुलको मूख्य टार्गेट बरेल्ला रहेका छन्। इन्टरमा बरेल्लाको सम्झौता सन् २०२६ सम्मका लागि छ। तर इन्टरले ६० मिलियन युरोमा उनलाई आउने समर ट्रान्सफरमा बिक्री गर्न सक्ने चर्चा गरिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *