June 17, 2024

एजेन्सी – इतिहाद स्टेडियम कब्जा गर्ने योजना सहित स्पेनिस महारथी रियल म्याड्रिडले आज म्यानचेस्टर सिटीको सामना गर्दैछ। च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाउन रियलले आज सिटीको सामना गर्ने भएको हो। च्याम्पियन्स लिगको पहिलो लेगमा रियल र सिटीले १-१ को बराबरी खेलेका थिए।

रियलको घरेलु मैदानमा भएको पहिलो लेगमा दुवै टोलीले जित निकाल्ने प्रयास गरेपनि सफल हुन सकेका थिएनन्। रियलको घरेलु मैदानमा रियलले पहिला अग्रता लिएर पनि जोगाउन सकेको थिएन। दोस्रो हाफमा सिटीले बराबरी गोल फर्काएपछि रियलले पहिलो हाफमा गरेको गोल निर्णायक बन्न सकेन।

दुवै टोली आज फाइनलमा स्थान बनाउनको लागि जित्नै पर्ने दबाबमा हुनेछन्। सिटीको घरेलु मैदानमा खेल्न पक्कै पनि रियलका लागि सहज हुने छैन। तर रियल इतिहाद कब्जा गर्ने दाउमा भने पक्कै हुनेछ। पेप ग्वार्डियोलाको पक्षले घरमा अन्तिम १५ खेल जितेको छ र च्याम्पियन्स लिगमा सन् २०१८ देखि पराजित भएको छैन।

सिटीको घरेलु मैदानमा पछिल्लो पटक बायर्न म्युनिख, लिभरपुल, आरबी लाप्जिंग, म्यानचेस्टर युनाइटेड र आर्सनल जस्ता टोलीले घुँडा टेकेका छन्। सिटी र रियल बीचको खेल नेपाली समय अनुसार रातको १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *