June 22, 2024

एजेन्सी – मेजर लिग सकर (एमएलएस) को संगठन सीएफ मोन्ट्रियल रियल म्याड्रिडका फरवार्ड इडेन हाजार्डलाई भित्र्याउन इच्छुक रहेको बताइएको छ। विभिन्न स्पेनिस मिडियाहरुका अनुसार सीएफ मोन्ट्रियलले हाजार्डमा चासो देखाएको छ भने आउने समर ट्रान्सफर विन्डोमा भित्र्याउने योजना बनाएको छ।

सन् २०१९ मा १ सय ४० मिलियन यूरोको शुल्कमा चेल्सीबाट लस ब्लान्कोसमा सामेल भएदेखि ३२ वर्षीय हाजार्डले अपेक्षाहरू पूरा गर्न सकेनन्। पटक पटक घाइते हुँदा उनले रियलका लागि राम्रो प्रदर्शन गर्न सकेनन्। रियल आएपछि उनी कयौं पटक घाइते हुन पुगे। अहिले युवा खेलाडीहरुको उदय भएसंगै रियललाई उनको आवश्यकता छैन।

रियल म्याड्रिडमा आफ्नो समयमा सात ट्राफीहरू जितेपनि उनले चार वर्षमा मात्रै ७६ खेल खेल्न सके। यस बीचमा उनले ७ गोल गरेका छन् भने १२ असिस्ट दिएका छन्। मार्काका अनुसार मोन्ट्रियलले निकट भविष्यमा रियलबाट हाजार्डलाई खरिद गरेर लैजाने योजना बनाएको छ। अर्कोतर्फ, हाजार्ड रियल म्याड्रिडसँगको आफ्नो सम्झौताको अन्तिम सम्म रियलमा बस्न चाहन्छन्।

उनले सम्झौता सकिनु अगाडी रियल नछाड्ने पटक-पटक बताइरहेका छन्। केहि समय अगाडी मात्रै उनले आफू सम्झौताको अन्तिम सम्म रियलमा रहन चाहेको बताएका थिए। लस ब्लान्कोसका अध्यक्ष फ्लोरेन्टिनो पेरेज भने जसरी हुन्छ हाजार्ड देखि छुटकारा पाउने पक्षमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *