June 22, 2024

एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सी र पेरिस सेन्ट जर्मेन(पिएसजी) बीचको सम्झौता छिट्टै सकिँदैछ। सन् २०२१ मा पिएसजी आइपुगेका मेस्सीको सम्झैता यहि सिजनको अन्त्यमा सकिन लागेको हो। पिएसजी र मेस्सी बीचको सम्झौता यहि सिजनको अन्त्यमा सकिँदैछ र सिजन सकिन अब केहि खेल मात्र बाँकी छन्।

पिएसजी र मेस्सी बीच विश्वकपकै क्रममा सम्झौता थप गर्ने मौखिक सहमति भएको थियो। तर सन् २०२३ सुरु भएपछिका घटनाक्रमहरुले मेस्सी र पिएसजी बीच सम्झौता थप नहुने देखाएको छ। पिएसजी मेस्सीलाई अहिले जति उच्च पारिश्रमिक दिन चाहँदैन र पारिश्रमिक घटाउनु परेको अवस्थामा मेस्सी पिएसजीमा बस्न चाहँदैनन्। यसको अर्थ मेस्सी बहिर्गमनको बाटोमा छन्।

मेस्सी आगामी समर ट्रान्सफर विन्डोमा फ्री एजेन्ट हुनेछन् र उनी फ्री ट्रान्सफरका लागि उपलब्ध हुनेछन्। यससंगै विश्वभरका ठूला क्लब मेस्सीको पछि लागेका छन्। मेस्सीको पछाडी यति बेला युरोप, अमेरिका र साउदीका क्लबहरु रहेका छन्। उनलाई पूर्व क्लब बार्सिलोनाले पनि फिर्ता लैजान चाहेको छ। आर्थिक संकटका कारण बार्सिलोनाले मेस्सी फिर्ता लैजान सक्ने हो कि होइन भन्ने टुंगो लागिसकेको छैन।

यसैबीच अमेरिकी लिग मेजर लिग सकर(एमएलएस)का क्लबहरु पनि मेस्सी भित्र्याउन चाहिरहेको थाहा हुन आएको छ। मेस्सीलाई भित्र्याउन एमएलएसका सबै २९ टोली तयार रहेको चर्चा बाहिर आएको छ। मेस्सी लिगको जुन सुकै क्लबमा पुगेपनि सबै क्लबलाई लाभ हुने निश्चित नै छ। त्यसलाई मध्यनजर गर्दै सबै क्लब मिलेर मेस्सीको परिश्रमीक बेहोर्ने गरी त्यहाँका क्लबहरुले योजना बनाएको बताइन्छ।

खबरका अनुसार अमेरिकी लिगका सबै क्लब मेस्सीलाई भित्र्याउन चाहन्छन् र सबै क्लब मिलेर उनलाई अमेरिका ल्याउन एक आश्चर्यजनक स्थानान्तरण कोषको निर्माण गर्न चाहन्छन्। मेस्सी भित्र्याउन सबै क्लब मिलेर लगानी गर्ने र मेस्सीले आफूलाई मन परेको क्लब रोज्न सक्ने व्यवस्था गर्नेगरी अगाडी बढ्ने योजना एमएलएस क्लबहरुले बनाएको बताइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *