June 22, 2024

एजेन्सी – भारतीय महिला लिग(आइडब्लुएल)मा नेपाली महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी (साम्बा)ले निरन्तर सानदार प्रदर्शन गरिन्। गत सिजन चोटका कारण आइडब्लुएलमा सहभागी हुन नसकेपनि यस पटक भने सावित्राले लिगमा सहभागी हुँदै तहल्का नै मच्चाउन सफल भएकी हुन्।

सावित्राले आइडब्लुएलको एक खेलमा बाहेक सबै खेलमा गोल गरिन्। आइडब्लुएलमा उनी आवद्ध गोकुलम केरला एफसी च्याम्पियन बन्दा सावित्राले मूख्य भूमिका निभाइन्। उनले प्रतियोगिताभर २९ गोल गर्न सफल भइन्। उनले प्रतियोगिताका १० खेलमा २९ गोल गर्न सफल भएकी हुन्।

यससंगै उनले एक रेकर्ड पनि तोडेकी छन्। सावित्राले भारतीय महिला लिगको एकै सिजनमा सबै भन्दा बढी गोल गर्ने खेलाडीको रेकर्ड तोडेकी हुन्। यस भन्दा अगाडी सो रेकर्ड मणिपुर पुलिसकी बालादेवीको नाममा थियो। उनले सन् २०१९-२० को सिजनमा २६ गोल गरेकी थिइन्। तर २९ गोल गर्दै सावित्राले सो रेकर्ड तोड्न सफल भएकी छन्।

सावित्रा प्रतियोगिताको सर्वाधिक गोलकर्ता रहेकी थिइन्। उनको छेउछाउ कोहि पनि पुग्न सकेन। उत्कृष्ट गोल गर्न सक्ने क्षमता राख्ने सावित्राले प्रतियोगितामा पाँच खेलमा ह्याट्रिक गर्न सफल भएकी थिइन्। उनले १० मध्ये चार खेलमा प्लेयर अफ दि म्याचको अवार्ड जितेकी थिइन्। उनले एकै खेलमा सात गोल सम्म गर्न सफल भइन्। मुम्बई नाइट्सविरुद्धको खेलमा उनी एक्लैले डबल ह्याट्रिक पूरा गर्दै ७ गोल गरेकी थिइन्।

भारतीय महिला लिगमा सर्वाधिक गोल गर्ने खेलाडी समेत बन्न पनि सफल भएकी छन्। कुल तीन सिजनमा ५१ गोल गरेसंगै सावित्रा भारतीय महिना लिगमा सबै भन्दा बढी गोल गर्ने खेलाडी बनेकी हुन्। लिगमा सर्वाधिक गोल गर्ने सूचीको दोस्रो स्थानमा भारतकी बालादेवी रहेकी छन् र उनले ४८ गोल गरेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *