June 14, 2024

एजेन्सी – ब्राजिलियन स्टार नेयमारले सम्भवतः पेरिस सेन्ट जर्मेन(पिएसजी)का लागि अन्तिम खेल खेलिसकेका छन्। फेब्रिअरीमा घाइते भएपछि खुट्टाको शल्यक्रिया गरिएका नेयमारले पिएसजीका लागि अन्तिम खेल खेलिसकेको जस्तै देखिएको छ। किनभने नेयमारले आउने समर ट्रान्सफर विन्डोमा क्लब छाड्न सक्छन्।

पिएसजी र नेयमार बीच केहि वर्षका लागि सम्झौता बाँकी भएपनि दुवै पक्ष एकअर्कासँग छुट्टिन चाहन्छन्। पिएसजीले नेयमारलाई आउने समर ट्रान्सफर विन्डोमा बिक्री गर्न चाहेको छ भने नेयमारले पनि नयन गन्तव्यको खोजि गरिरहेका छन्। नेयमार माथि प्रिमियर लिग क्लबहरुको नजर रहेको छ। उनलाई चेल्सी, न्यूक्यासल सहितका क्लबहरुले भित्र्याउन चाहेको बताइन्छ।

यसैबीच नेयमार भित्र्याउने दौडमा म्यानचेस्टर युनाइटेड पनि सामेल हुने भएको छ। फ्रान्सबाट आएको खबर अनुसार आउने समर ट्रान्सफर विन्डोमा युनाइटेडले नेयमार भित्र्याउन प्रयास गर्ने भएको छ। युनाइटेड नेयमारका लागि गम्भीर भएर लाग्ने योजनामा रहेको बताइएको छ।

नेयमारका साथी ब्राजिलका अन्तर्राष्ट्रिय क्यासेमिरोले युनाइटेडलाई बार्सिलोनाका पूर्व खेलाडीलाई एरिक टेन ह्यागको टोलीमा सामेल गराउन दबाब दिइरहेको फ्रेन्च पत्रिका ले इक्वीपले जनाएको छ। युनाइटेडले नेयमारलाई सिधै खरिद गर्ने भन्दा पनि लोनमा भित्र्याउन सक्ने रिपोर्टहरु निरन्तर आइरहेका छन्।

उता पिएसजी भने नेयमारलाई लोनमा अन्यत्र पठाउने भन्दा पनि उनलाई बिक्री नै गर्ने योजनामा रहेको छ। आगामी समयमा दुई क्लब बीचको कुराकानी अगाडी बढेको खण्डमा मात्रै नेयमारको भविष्य के हो भने हो भन्ने बारे टुंगो लाग्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *