June 17, 2024

क्रिस्टियानो रोनाल्डोले सुन्दर गोल गर्दै अल–नासरलाई अल–शबाबविरुद्ध पुनरागमन जित दिलाएका छन्। अल-अवल पार्कमा भएको खेलमा क्रिस्टियन गुआन्काले पहिलो हाफमा दुई गोल गर्दै अल-शबाबलाई दुई गोलको अग्रता दिलाएका थिए।

पहिलो हाफको अन्त्यमा एन्डरसन तालिस्काले उत्कृष्ट गोल गर्दै अल-नासरका लागि पहिलो गोल गरेका थिए। दोस्रो हाफको सुरुमै अल–नासरका लागि अब्दुलरहमान घारिबले बराबरी गोल फर्काएका थिए।

त्यसपछि ५९औं मिनेटमा रोनाल्डोले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। ३८ वर्षीय स्टारले दुई विपक्षी डिफेन्डरलाई छक्याउदै अल-शबाबको गोलमा रहेका किम सेउङ-ग्युलाई पार गर्दै बललाई जाली चुमाएका थिए। खेलमा किमले शानदार प्रदर्शन गरे पनि उनले रोनाल्डोको जादुई फिनिशलाई रोक्न भने सकेनन्।

मंगलबार राति भएको खेलमा उत्कृष्ट पुनरागमन जित निकालेपछि रोनाल्डोको कप्तानीमा रहेको टोलीले साउदी प्रो लिगको शीर्ष स्थानमा रहेको अल-इतिहाद माथि दबाब कायम नै राखेको छ।

सिजन सकिन अब मात्र दुई खेल बाँकी रहँदा अल-नासर २८ खेलबाट ६३ अंकका साथ दोस्रो स्थानमा रहेको छ भने पहिलो स्थानको अल-इतिहादको ६६ अंक रहेको छ। यसैबीच, क्रिस्टियानो रोनाल्डोले जनवरीमा डेब्यु गरेदेखि नै अल-नासरका लागि १४ गोल गरेका छन् र तीन सहयोग प्रदान गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *