June 22, 2024

एजेन्सी – ब्राजिलियन स्टार नेयमार र पेरिस सेन्ट जर्मेन(पिएसजी) आउने समर ट्रान्सफर विन्डोमा छुट्टिन सक्छन्। सन् २०१७ मा पिएसजी आइपुगेका नेयमारले आउने समर ट्रान्सफर विन्डोमा क्लब छाड्ने सम्भावना बढेको हो।

पिएसजी र नेयमार बीचको सम्झौता सन् २०२५ सम्मका लागि छ। तर पनि नेयमार दुई वर्ष अगाडी नै क्लबबाट बाहिरिन सक्छन्। किनभने पिएसजीले उनलाई क्लबमा राख्न चाहेको छैन र उनी आफैं पनि अन्यत्र खेल्न चाहिरहेका छन्।

पिएसजीले उनलाई बिक्रीमा राख्ने लगभग तय भइसकेको विभिन्न खेल मिडियाहरुले दावी गरिरहेका छन्। नेयमार भित्र्याउने दौडमा प्रिमियर लिग क्लबहरु हुने लगभग पक्का छ। नेयमार माथि चेल्सी, न्यूक्यासल र म्यानचेस्टर युनाइटेडको नजर रहेको बताइन्छ।

यसैबीच एस्टन भिल्लाका पूर्व स्ट्राइकर गेब्रियल एग्बोनलाहोरले युनाइटेडलाई नेयमार नभित्र्याउन सुझाव दिएका छन्। एक मिडियासँगको कुराकानीका क्रममा एग्बोनलाहोरले नेयमार नभित्र्याउन युनाइटेडलाई सुझाव दिएका हुन्। पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोबाट छुटकारा पाइसकेको अवस्थामा युनाइटेडले नेयमार भित्र्याएर क्लबको माहोल खराब नगर्न सुझाव दिएका छन्।

फुटबल इनसाइडरसँगको कुराकानीका क्रममा एग्बोनलाहोरले रोनाल्डोको अहंकारबाट बल्ल-तल्ल छुटकारा पाएको उल्लेख समेत गरे। नेयमारको आगमनले युनाइटेडको ड्रेसिङ रुमको माहोल खराब गर्न सक्ने एग्बोनलाहोरको अनुमान छ।

“यसले मात्र अर्थ राख्दैन। तपाईंले क्रिष्टियानो रोनाल्डोको ठूलो अहंकारलाई पहिले नै हटाउनु भएको छ, तपाईंले अर्को किन ल्याउनुहुन्छ? यो ड्रेसिङ रुमको लागि नराम्रो हुनेछ। PSG ले उनलाई बाहिर निकाल्नुको कारण छ। चाहे उनी साँच्चै प्रतिभाशाली भए पनि म युनाइटेडलाई उनीबाट टाढा रहन सुझाव दिन्छु।”,एग्बोनलाहोरले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *