June 22, 2024

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले सिजनको अन्तिम खेल शनिबार राति खेल्दैछ। पिएसजीले सिजनको अन्तिम खेलमा क्लर्मोन्ट फुट विरुद्ध घरेलु मैदानमा खेल्ने भएको हो। क्लर्मोन्ट फुट विरुद्धको खेल सर्जियो रामोस र अर्जेन्टिनी स्टार लियोनेल मेस्सीका लागि पिएसजीसँगको अन्तिम खेल हुनेछ।

दुवै खेलाडीले यस सिजनको अन्त्यमा क्लब छाड्ने तय भइसकेको छ। मेस्सी र रामोसका लागि मात्र नभई यो खेल प्रशिक्षक क्रिस्टोफ गाल्टियरका लागि पनि अन्तिम हुनेछ। यस खेल पश्चात पिएसजीले क्रिस्टोफ गाल्टियरलाई बर्खास्त गर्ने खबर फ्रेन्च मिडियाहरुमा आएका छन्।

फ्रेन्च पत्रिका ले इक्विपका अनुसार पिएसजीले क्रिस्टोफ गाल्टियरलाई छुट्टै नै बर्खास्त गर्नेछ। कतारका अमिर शेख तमिम बेन हमाद अल थानी पेरिसमा रहेको र फ्रान्सेली प्रबन्धकको प्रस्थानको औपचारिक घोषणा गर्ने तयारी गरिएको ले इक्विपले जनाएको छ।

पिएसजी र गाल्टियर बीच दुई वर्षका लागि सम्झौता भएको थियो। तर एक वर्षमै पिएसजीले उनलाई बिदाई गर्ने योजना बनाइसकेको छ। पिएसजीलाई फ्रेन्च लिग वान उपाधि दिलाएपनि उनले च्याम्पियन्स लिगमा भने चमत्कार गर्न सकेनन्। पिएसजी च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *