June 17, 2024

क्लब कप्तान करिम बेन्जेमाले छाड्ने सम्भावना बढेपछि स्पेनिस क्लब रियल म्याड्रिडले उनको स्थान लिन सक्ने खेलाडीको खोजी सुरु गरेको छ। आउँदो एक सिजनका लागि नयाँ सम्झौता हालै मात्र हस्ताक्षर गरेका फ्रेन्च स्टारले पछिल्लो समय भने म्याड्रिड छाड्ने चर्चा चुलिएको छ।

विभिन्न मिडिया रिपोर्टका अनुसार पूर्व लियोन स्टारलाई अनुबन्ध गर्न केही साउदी क्लब इच्छुक रहेका छन्। एक रिपोर्टलाई मान्ने हो भने साउदी प्रो लिग क्लब अल-हिलालले बेन्जेमालाई अनुबन्ध गर्नका लागि प्रति वर्ष १०० मिलियनको पारिश्रमिक प्रस्ताव गरेको छ।

आफ्नो करियरको अन्त्यतिर रहेका ३५ वर्षीय स्टार यस प्रस्तावबाट लोभिएको र अब रियल म्याड्रिड छाड्ने मुडमा रहेको बुझिएको छ। यस्तोमा म्याड्रिड भने अब युरोपका उच्च स्ट्राइकर खोज्न तिर लागेको छ।

एक स्पेनिस रिपोर्टका अनुसार १४ पटकको च्याम्पियन्स लिग विजेता हाल अर्जेन्टिनी स्टार लाउटारो मार्टिनेजलाई अनुबन्ध गर्न इच्छुक देखिएको छ। रियल म्याड्रिडले बेन्जेमालाई प्रतिस्थापन गर्न बनाएको शीर्ष स्ट्राइकरको सूचीमा अर्जेन्टिनी स्टार पहिलो स्थानमा रहेका छन्।

लियोनल मेस्सीका राष्ट्रिय टोलीका सहकर्मीलाई क्लबमा भित्र्याउनका लागि क्लब अध्यक्ष फ्लोरेन्टिनो पेरेज नै लागिपरेका छन्। म्याड्रिडको चासो रहेपनि इटालियन क्लब इन्टर मिलान भने आफ्ना प्रमुख खेलाडीलाई छाड्न इच्छुक नरहेको बताइएको छ।

इन्टर मिलानका सीईओ ज्युसेप मारोटाले गजेटा डेलो स्पोर्टलाई भने: “मलाई लाग्छ कि लाउटारोको लागि हाम्रो भावी कप्तान बन्नका लागि सबै कुरा छन्।”

२०२२ विश्वकप विजेता यस सिजन इटालियन क्लबका लागि निकै राम्रो लयमा रहेका छन्। उनले मिलान क्लबका लागि यस अवधिमा २७ लिग खेलमा २१ गोल गरिसकेका छन् भने च्याम्पियन्स लिगको फाइनलमा आफ्नो टोलीलाई पुर्याउनका लागि मुख्य भूमिका खेलेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *