June 16, 2024

एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सी र स्पेनिस स्टार सर्जियो रामोसको अन्तिम खेलमा पेरिस सेन्ट जर्मेन(पिएसजी) पराजित हुन पुगेको छ, सन् २०२२-२३ को सिजनको अन्तिम खेलमा पिएसजी घरेलु मैदानमै पराजित हुन पुगेको हो। शनिबार राति भएको खेलमा पिएसजी क्लेरमन्टफर्टसँग ३–२ को गोल अन्तरले पराजित भयो।

बलमा राम्रो नियन्त्रण राखेपनि पिएसजीले गोलमा भने क्लेरमन्टफर्ट भन्दा राम्रो गर्न सकेन। पिएसजीले बलमा कुल ५५ प्रतिशत नियन्त्रण राखेको थियो। खेलभर पिएसजीको तर्फबाट कुल १६ प्रहार भएका थिए। जसमध्ये ६ प्रहार टार्गेटमा थिए। तर मात्र दुई प्रहार गोलमा परिणत भए।

त्यस्तै क्लेरमन्टफर्टको तर्फबाट भने खेलभर १२ प्रहार भएकोमा ५ प्रहार टार्गेटमा थिए। जसमध्ये ३ प्रहार गोलमा परिणत भएका थिए। पाहुना टोलीको जितमा जोहान गास्टिन, मेदी जिफेन र ग्रिजोन केयईले गोल गर्दा घरेलु टोलीको तर्फबाट सर्जियो रामोस र केलियन एमबाप्पेले गोल गरेका थिए।

पिएसजीबाट भएका दुवै गोल पहिलो हाफमा आएका थिए। खेलको १६औं मिनेटमा रामोसले गोल गर्दै पिएसजीलाई अग्रता दिलाउन सफल भएका थिए। २१औं मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पिएसजीको अग्रता दोब्बर परेका थिए। तर दुई गोलको अग्रतालाई पिएसजीले जोगाई राख्न भने सकेन।

२४औं मिनेटमा जोहानले गोल गर्दै खेललाई २–१ को स्थितिमा पुर्याए। क्लेरमन्टफर्टले पहिलो हाफको इन्ज्युरी समयमा बराबरी गोल फर्कायो। सो गोल मेदी जिफेनले गरेका थिए। त्यसपछि दोस्रो हाफमा पनि पाहुना टोलिले गोल गर्यो। खेलको ६३औं मिनेटमा ग्रिजोन केयईले गोल गर्दै अग्रता दिलाएका हुन्। उनको गोल नै पिएसजीलाई पराजित गर्न काफी भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *