June 14, 2024

एजेन्सी – फ्रेन्च स्टार करिम बेन्जेमाले रियल छाड्ने पक्का भइसकेको छ। बेन्जेमाले फ्री एजेन्टको रुपमा रियल छाड्ने तय भएको हो। रियल म्याड्रिडले आधिकारिक रुपमै बेन्जेमाले क्लब छाड्ने जानकारी गराएको छ। आइतबार मात्रै क्लबले बेन्जेमाले क्लब छाड्न लागेको भन्दै बेन्जेमालाई सुखद भविष्यका लागि शुभकामना दिएको हो।

बेन्जेमा रियलमा सन् २००९ मा आइपुगेका थिए। रियलमा उनले निरन्तर १४ वर्ष खेले। रियलको पछिल्लो एक दशकको सफलतामा बेन्जेमाको पनि ठूलो भूमिका थियो। बेन्जेमाले रियलमा रहेर कुल २५ उपाधि जिते। त्यसमा ५ च्याम्पियन्स लिग र चार लालिगा उपाधि छन्।

रियलका लागि १४ वर्षमा उनले कुल ६ सय ४७ खेल खेले। जसमा उनले ३ सय ५३ गोल गरे भने १ सय ६५ असिस्ट दिए। बेन्जेमाले गत सिजन करियरकै उत्कृष्ट प्रदर्शन गरेका थिए। उनकै उच्च प्रदर्शनमा रियलले च्याम्पियन्स लिग र लालिगा उपाधि जितेको थियो। त्यसका लागि उनले करियरको पहिलो बालोन डी’ओर जितेका थिए।

रियलबाट बिदा भएपछि अब उनी साउदी जान धेरै नजिक छन्। साउदी क्लब अल इत्तिहाद बेन्जेमासँग सम्झौता नजिक रहेको बताइएको छ। साउदी प्रो लिग च्याम्पियन अल इत्तिहाद बेन्जेमालाई १ सय ५० मिलियन युरो आसपास पारश्रमिक दिन तयार रहेको छ।

बेन्जेमा र अल इत्तिहाद बीच अब छिट्टै सम्झौता हुन सक्ने खबरहरु निरन्तर आइरहेका छन्। सम्झौता पूरा गर्नको लागि बेन्जेमा छिट्टै साउदी उड्ने सम्भावना रहेको छ। बेन्जेमा र अल इत्तिहाद बीच यहि साता सम्झौता हुने साउदी मिडियाहरुको दावी छ। सम्झौता भएपछि पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोसँग बेन्जेमाको सिधा सिधा प्रतिष्पर्धा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *