June 14, 2024

एजेन्सी – फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले आफ्नो अन्तिम खेलमा स्पेनिस महारथी रियल म्याड्रिडलाई हारबाट जोगाएका छन्। रियल छाड्ने घोषणा गरिसकेका बेन्जेमाले आइतबार राति रियल म्याड्रिडको हार टारेका हुन्। आइतबार राति रियलले घरेलु मैदानमा एथलेटिको बिल्वाओसँग १–१ गोलको बराबरी खेल्यो।

सान्टियागो बर्नबेउमा आइतबार राति भएको खेलमा बिल्वाओका ओइहान सानसेटले गोल गर्दा रियलका लागि बेन्जेमाले पेनाल्टीमा बराबरी गोल फर्काएका थिए। बिल्वाओ विरुद्धको खेलमा रियलले बलमा राम्रो नियन्त्रण राखेपनि खुलेर आक्रमण भने गर्न सकेन।

रियलले खेलभर बलमा कुल ६५ प्रतिशत नियन्त्रण राखेको थियो। तर खेलभर रियलको तर्फबाट मात्र ९ प्रहार भएका थिए। जसमध्ये मात्रै २ प्रहार टार्गेटमा थिए। त्यस्तै बिल्वाओको तर्फबाट भने खेलभर १५ प्रहार भएका थिए जस मध्ये ९ प्रहार टार्गेटमा थिए।

पहिलो हाफमा कुनै पनि टोलीबाट गोल हुन सकेको थिएन। तर खेलको ४९ औं मिनेटमा बिल्वाओले अग्रता लिन सफल भएको थियो। खेलको ४९ औं मिनेटमा बिल्वाओका सानसेटले अग्रता दिलाएका थिए। खेलको ७२औं मिनेटमा बेन्जेमाले पेनाल्टीमा गोल गर्दा खेल बराबरीमा पुग्यो।

पेनाल्टी बक्समा युरी वरचिचेले एडर मिलिसाओलाई फउल गरेपछि रियलले पेनाल्टीको अवसर पाएको थियो। सो अवसरलाई बेन्जेमा खेर जान दिएनन्। उनले गोल गर्दै रियलको हारलाई टारे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *